बेल्ट एण्ड रोड इनिसियटिभमा रहेर व्यापार विस्तार गर्नुपर्ने महराको जोड

काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् ।

नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भने, “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली र चिनियाँबीच राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने उल्लेख गरे ।

परराष्ट्रमन्त्री महराले द्रुत विकासमा चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथप्रदर्शकको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा सांसद टेकबहादुर गुरुङ, नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापालगायतले छिमेकी मुलुक चीनबाट बढी पर्यटक भित्र्याउन सके पर्यटनको माध्यमबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका तर्फबाट अनुभवी पथप्रदर्शक ८१ वर्षीय किसनबहादुर नगरकोटीलाई सम्मान गरिएको थियो ।

Loading...