तराइमा चर्को गर्मी तथा लगातारको वर्षातसँगै भाइरल ज्वरो, अस्पतालभरि बिरामी भरिभराउ

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।

पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए । “यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ, एउटै घरका चार÷पाँच जना नै ग्रसित भएको पनि देखिएको छ”, डा अग्रहरिले भने ।

उनका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमीलगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन् । ज्वरो आउने, चिसो लाग्ने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्ष्ण देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न तथा प्रशस्त पानी पिउन, आराम गर्न, रोगीले प्रयोग गरेका रुमाललगायतका वस्तु प्रयोग नगर्न तथा नछुन, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा अग्रहरिको सुझाव छ ।

Loading...