ड्युटीमा खटिएका प्रहरीको टाउकोमा खुकुरी हान्ने पक्राउ

चितवन, १४ भदौ । चितवन नारायणगढस्थित व्यस्त बजारमा दिउसै ड्यूटीमा रहेका प्रहरी जवानलाई आक्रमण गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको क्षेत्रपुर बस्दै आएका ३० वर्षीय दिलिप सुनारले आज बुधवार दिउसो प्रहरी जवान तारा पोखरेललाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएकी प्रहरी जवान तारा पोखरेलमाथि उनले सांघातिक आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट प्रज पोखरेलको टाउकोमा गम्भीर चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले आज बुधबार दिउँसो २ बजेर ४० मिनेट जाँदा प्र्रज पोखरेलमाथि खुकुरी प्रहार भएको जानकारी दिए । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी मात्तिएर आएका सुनारले एकाएक ड्यूटीमा रहेका प्रहरी जवान माथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । पक्राउ परेका सुनारलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

Loading...