प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं, २ भदौ । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् । अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए ।

साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए । स्वदेश फर्किँदा विमानस्थलमा उनी सञ्चारकर्मीहरुसँग बोलेनन् । केहीबेरपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताए ।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन् ।

नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली विदेश जाँदा अर्का अध्यक्ष प्रचण्ड स्वतः कार्यवाहक अध्यक्ष बन्ने गरेका छन् । यो साता पनि ओली सिंगापुर गएका बेला प्रचण्ड नै कार्यवाहक अध्यक्ष बन्नेछन् । तर, पछिल्लोपटक नेकपाभित्र जुन उथल–पुथल र फेरबदल आएको छ, प्रधानमन्त्रीले सरकार र पार्टी एक–एक जनाअध्यक्षले हेर्ने गरी जिम्मेवारी बाँडफाँड गर्न लागेको पूर्वमाओवादी खेमाका नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बेलामा प्रचण्डलाई ‘तपाई पार्टी चलाउनोस्, म सरकार चलाउँछु’ भन्ने आश्वास दिएको नेकपाको उच्च स्रोतले बतायो । प्रचण्डको चाहना पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्तिले चलाउनु उपयुक्त हुँदैन भन्ने छ ।