भरतपुर, १ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो ।
अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए । टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए । “बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ”, उनले भने, “तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ ।
शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौँमा पक्राउ गरी यहाँ ल्याएको थियो । यसैबीच पत्रकार पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन प्रदर्शनकारीलाई पनि आग्रह गरिएको छ । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठामा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।