सम्झनाले दिइन रवि लामिछानेविरुद्ध किटानी जाहेरी

काठमाडौं, १ भदौ । चर्चित पत्रकार रवि लामिछानेका विरुद्ध किटानी जाहेरी परेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनका विरुद्ध किटानी जाहेरी परेको हो ।

प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । उनीसँगै उनका सहकर्मी युवराज कँडेल र अस्मिता भन्ने रुक्कु कार्की पनि पक्राउ परेका छन् ।

लामिछानेसँगै सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पत्रकार शालिकराम पुडासैनी केही दिन अघि मात्र चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले झुन्डिनु अघि आफ्नो मोवाइलमा भिडियो रेकर्ड गरी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीकै कारण आत्महत्या गर्नुपरेको बताएका थिए । उक्त भिडियोमा उनीहरुको नाम जोडिएको र केही आरोप पनि लगाइएकोले त्यसका बारेमा छानविन गर्न प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरी चितवनमा पु¥याएको हो ।

रातारात चितवन पु¥याइएका रवि लामिछानेसँगै तीन जनालाई शुक्रबार नै जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो । अदालतले उनलाई पाँच दिनसम्म म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यसैक्रममा मृतक पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले रविसँगै तीनजनाका विरुद्ध किटानी जाहेरी दिएकी छन् । भिडियोमा नाम लिइए अनुसार उनीहरुकै कारण पुडासैनी मर्नुपर्ने अवस्था आएको भए त्यसको सत्यतथ्य छानविन गरी कारवाही गर्न किटानी जाहेरीमा माग गरिएको छ ।

लामिछानेसहित तीन जनाविरुद्धको किटानी जाहेरी काठमाडौं प्रहरी परिसर, टेकुमा परेको हो । पुडासैनीको परिवारले जिप्रका काठमाडौं मार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् । काठमाडौं प्रहरीले उक्त किटानी जाहेरीलाई शिलबन्दी गरी चितवन पठाउने जनाएको छ ।

एक वर्ष अघि लागू भएको मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार पुडासैनीका परिवारले काठमाडौंबाटै जाहेरी दिएका हुन् । तर, त्यसरी परेको जोहरीका बारेमा अनुसन्धान र कारबाही भने घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

Loading...