काठमाडाैं । तक्षशिला मानव सभ्यताकै सवैभन्दा पुरानो विश्वविद्यालय हो । यो इशापूर्व ७०० मा नालन्दा विश्वविद्यालयभन्दा झन्डै १२ सय वर्ष पहिले स्थापना भएको मानिन्छ । तक्षशिला विश्वविद्यालयमा तत्कालीन अवस्थामा नै १०,५०० विद्यार्थी अध्ययन गर्दथे भने यो विश्वविद्यालयमा आयुर्वेद, धनुर्वेद, हस्तविद्या, त्रयी, व्याकरण, दर्शनशास्त्र, गणित, ज्योतिष, गणना, संख्यानक, वाणिज्य, सर्पविद्या, तन्त्रशास्त्र, संगीत, नृत्य र चित्रकलालगायत ६४ विषयमा पढाइ हुन्थ्यो ।
यो आयुर्वेद विज्ञानको सवैभन्दा ठूलो केन्द्र थियो । इशापूर्व ५०० मा चिकित्साशास्त्र परम्परा नै सुरु नभएको बेला तक्षशिलाले आयुर्वेदमा निकै ठूलो फड्को मारेको पाइन्छ । तक्षशिलाबाट स्नातक गर्नु त्यो बेला निकै नै गौरवको विषय मानिन्थ्यो। तक्षशिला प्राचीन गान्धार देशको प्रशासनिक र राजनीतिक केन्द्र थियो । यो तीन ऐतिहासिक मार्गहरुले जोडिएको थियो एक उत्तरापथ जो गान्धारलाई मगध साम्राज्यसँग जोड्थ्यो, दोस्रो उत्तरपश्चिमी मार्ग काशिप र पुष्कलावती भएर जान्थ्यो, तेस्रो सिन्धु नदी मार्ग जो श्रीनगर, मानसेरा, हरिहरपुर घाँटी हुँदै रेशममार्ग तथा दक्षिण हिन्दमहासागरसम्म जोडिन्थ्यो ।
संस्कृत साहित्यका सर्वश्रष्ठ व्याकरणकर्मी पाणिनी गांधार निवासी भएकाले तक्षशिलाकै विद्यार्थी मानिन्छ । त्यसै गरी चाणक्य पनि तक्षशिलाकै स्नातक तथा प्राचार्य पनि थिए । यसरी तक्षशिला विश्वविद्यालयले नै प्राचीन वैदिक तथा वौद्धकालीन प्रतिभाहरु उत्पादन गरेको अनुमान गरिन्छ ।
इशापूर्व छैठौ शताब्दीमा वौद्ध धर्मको पूर्णउत्थान भएको थियो । यो संगठित र सुव्यवस्थित धर्म थियो । बौद्धग्रन्थ तेलपत्त र सुसीमजातकमा तक्षशिला विश्वविद्यालयको चर्चा गरिएको छ । यो विश्वविद्यालयबाट अश्वघोष,नागार्जुन, आर्यदेव, असंग, धर्मपालजस्ता दर्जनौँ वौद्ध दार्शनिकहरु पैदा भएका थिए ।
पूर्वीय सभ्यताको शिक्षा र ज्ञानको केन्द्र तक्षशिलामाथि पाँचौ शताब्दीमा हुणहरुले भारतमाथि कब्जा गरेपछि ध्वस्त भएको थियो । तक्षशिला पाकिस्तानको राजधानी इस्लामावाददेखि ३५ किलोमिटर टाढा पर्दछ ।