फेरि आर्थिक मन्दी !

लगानीकर्ता

बुधवार वाल स्ट्रीटमा अमेरिका-चीनको व्यापार युद्ध तथा विश्वव्यापी अर्थतन्त्रको स्थिति देखेर लगानीकर्ताहरू अत्तालिए।

मुख्य तीनवटा अमेरिकी स्टक बजार तीन प्रतिशतले झरे।

अर्थतन्त्रको गभ्भीर विवेचना गर्दै विश्लेषकहरूले अमेरिका आर्थिक मन्दीतर्फ उन्मुख भएको सङ्केत गर।

जर्मनी र चीनबाट आएका कमजोर आँकडा तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकी केन्द्रीय ब्याङ्कविरुद्ध अर्को आक्रमणले लगानीकर्तालाई शेयरबाट सुनतर्फ आकर्षित हुन बाध्य पार्‍यो।

वित्तीय सेवा कम्पनी ब्रुडरम्यानका विश्लेषक ओलिभर पुर्स्चले विश्वव्यापी अर्थतन्त्रको तस्बिर खराब भएको बताए।

“हङ्‌कङमा जे भइरहेको छ, ब्रेक्जिट… अनि यो व्यापार युद्ध, सबै अस्तव्यस्त छ,” ती प्रमुख बजार रणनीतिकारले बताए।

“विश्वका प्रत्येक केन्द्रीय ब्याङ्कले अर्थतन्त्र उकास्न खोजिरहेका छन् तर विश्वभरिका राजनीतिज्ञहरू भने त्यसलाई ध्वस्त पार्न खोजिरहेका छन्।”

डरलाग्दो सङ्केत

अमेरिकी सरकारी बन्डले दिने प्रतिफलबारे देखिएका ताजा चिन्ताले गम्भीर आर्थिक सुस्तताको सङ्केत गरेको छ।

संवाददाता समिरा हुसेन भन्छिन्, “एक दशकयता पहिलोपल्ट दश वर्षे अवधि भएको अमेरिकी बन्डले दिलाउने फाइदा दुई वर्षे अवधि भएको बन्डभन्दा कम भयो।”

यस्तो अवस्थालाई इन्भर्टेड यील्ड कर्भ भनिन्छ र यिनले प्राय: आर्थिक मन्दी हुन लागेको सङ्केत गर्छन्।

साथै, उस्तै स्थिति ब्रिटिश सरकारी बन्डमा पनि देखा परेको छ र त्यहाँ पनि स्टक बजार खस्किएको छ।

दुई ठूला अर्थतन्त्रबाट आइरहेका निराशाजनक आर्थिक तस्बिरको जानकारीले पनि लगानीकर्ताहरूको चिन्ता बढाइदिएको छ।

गत तीन महिनायता जर्मनीको अर्थतन्त्र खुम्चिएको छ भने चीनको औद्योगिक उत्पादनको गति घटेको छ।

बिबिसिबाट

Loading...