फिदिम, ३० साउन । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गरे । कार्यक्रममा मन्त्री आङ्बोले स्थानीय तहहरुलाई मुख्य सडक तथा सदरमुकामसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शिलान्यास भएका सडकको निर्माणकार्य समयमै पूरा गर्न निरन्तर अनुगमन गर्न मन्त्री आङ्बोले स्थानीय तहका जनप्रतिनिधि तथा जिल्लास्थित सरकारी निकायका प्रमुखलाई आग्रह गरे ।
पूर्वाधार विकास कार्यालय पाँचथरअन्तर्गत यी सडकहरु निर्माण हुन लागेका हुन् । कुम्मायक गाँउपालिकालाई कोशी करिडोर तथा जिल्ला सदरमुकाम फिदिमसम्म जोड्न फिदिम–यासोक सडक कालोपत्र गर्न लागिएको हो । यसका लागि फिदिम–यासोकको ११।३१०किलोमिटरको सरखण्डे–यासोक खण्ड कालोपत्र हुनलागेको हो । बाँकी खण्ड कालोपत्र भइसकेको छ । सो सडक रु ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा निर्माण हुनलागेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।
शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको १३।९२१ किलोमिटर कालोपत्र हुनलागेको हो । यो सडक कालोपत्र निर्माणको ठेक्का कान्छाराम याक्थुङहाङ जेभीले रु ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत जिम्मा लिएको उक्त कार्यालयले जनाएको छ । यो सडकले फिदिम नगरपालिका वडा नं ९ तथा फाल्गुनन्द गाँउपालिकालाई कोशी करिडोर र सदरमुकाम फिदिमसम्म जोड्नेछ ।
फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्डको कालोपत्र हुनलागेको हो । फिदिम–१ अदालत गेट छेउबाट फिदिम–११ सल्लेरीसम्म १०।११२ किलोमिटर सडक कालोपत्र हुनलागेको हो ।
उक्त निर्माणको जिम्मा कन्काई पीएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले जानकारी दिनुभयो । फिदिम–फालोट सडक भारतको सिक्किमसँग सीमा जोडिएको स्थानसम्म पुग्छ । यो सडकले फिदिम नगरपालिकाका वडा नं ११ र १२ तथा फालेलुङ गाँउपालिकालाई सदरमुकामसम्म जोड्नेछ । फिदिम फालोट सडकको बाँकी खण्डको स्तरोन्नति गर्ने कार्यसमेत चलिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख यादवले बताए ।
पूर्वाधार विकास कार्यालयबाटै राँके–रबि–छ नम्बर बुधबारे सडकअन्तर्गत राँके बजारभित्र ३७० मिटर आरसीसी ढलानकार्य सम्पन्न भै सकेको छ । अधिकारी एण्ड ईश्वरी जेभीले रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको उक्त सडकको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले हिजो उद्घाटन गरेका थिए ।
सवारी तथा मानवीय चाप अधिक हुने यी सडकको कालोपत्र भएसँगै दैनिक आवतजावत, कृषि उपज निर्यातमा ठूलो सघाउ पुग्ने जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । जिल्लामा पहिलोपटक ग्रामीण सडक कालोपत्र हुनलागेको हो । सडक कालोपत्र नहुँदा ग्रामीण क्षेत्रका सडकमा निश्चित समयमा मात्रै सवारीका साधन सञ्चालन हुने गरेका छन् । यसले गर्दा चाहेको समयमा सवारीका साधन नपाउँदा स्थानीयवासीले सास्ती ब्यहोर्नु परिरहेको छ ।