नवलपरासी, २९ साउन । धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको पूर्वी नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्याप्त विकास अझै हुन सकेको छैन । दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि भौतिक पूर्वाधारको अभावमा प्रचारप्रसार पूर्वाधार नहुँदा यो क्षेत्र पछाडि पर्दै गइरहेको छ ।
अग्लो टापुमा रहेको दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि प्रचारप्रसारको अभावमा पछि परेको स्थानीयवासी गुनासो गर्दछन् । प्राकृतिक सम्पदाले भरिपूर्ण दाउन्नेमा विभिन्न मठमन्दिर रहेका छन् । दाउन्ने जङ्गलमा थुप्रै वनस्पति वन्यजन्तु पाइन्छ । जडीबुटीलगायत पनि पाइने दाउन्नेलाई व्यवस्थित बनाउन सकिए भने मात्र पनि यहाँको विकासमा ठूलो प्रभाव पर्न सक्ने बताइन्छ ।
किंवदन्तीअनुसार दाउन्ने क्षेत्र तत्कालीन पाल्पा राज्यका सेन वंशी राजाहरुको महत्वपूर्ण सामारिक क्षेत्रका रुपमा रहेको थियो । तत्कालीन पाल्पा राज्यमा विफर रोगले मानिसको मृत्यु हुँदा दाउन्ने देवीको शिलामा पूजा गरेर रोग निको भएको धार्मिक विश्वास रहिआएको छ । दाउन्ने देवीलाई तत्कालीन समयमा पाल्पा राजाहरुको इष्टदेवीका रुपमा लिइने गरिन्छ । दाउन्ने देवीमा चण्डी पूर्णिमा, धान्यपूर्णिमा, वैशाखे पूर्णिमा, वाला चतुदर्शी, शिवरात्रि र श्रवणीमा ठूलो भीड लाग्ने गर्दछ ।
सामान्य र परम्परागत रुपमा भएका विकास निर्माणबाहेकका भौतिक संरचनाको निर्माण हुन नसकेको दाउन्नेमा आन्तरिक र बाह्य पर्यटक गरी वार्षिक करीब दुई लाखसम्म पर्यटक आउने गरेको दाउन्ने संरक्षण व्यवस्थापन समितिको तथ्याङ्क छ । आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको दाउन्ने मन्दिर यस क्षेत्रमा निकै प्रख्यात मानिन्छ । विशेषगरी नेपालीसहित भारतीय पर्यटकको समेत यस क्षेत्रमा उल्लेखनीय मात्रामा भीडभाड लाग्ने गर्दछ ।
दाउन्ने धार्मिक महत्वलाई दृष्टिगत गरी यसको वृहत गुरुयोजना बनाउनुपर्ने आवश्यकता देखिएको छ । यसको महत्वलाई देश–विदेशमा परिचित बनाउन समय समयमा आवाज गुञ्जिने गरे पनि यसलाई अघि बढाउन नसक्नुले यो पछाडि पर्दै गइरहेको दाउन्ने संरक्षण व्यवस्थापन समितिको दाबी छ ।
धार्मिक र ऐतिहासिक दृष्टिकोणले पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही, पाल्पा, भारत र नेपालका थुप्रै ठाउँबाट यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढ्दो छ । दाउन्नेमा बौद्ध गुम्बा, बौद्ध विद्यालयसमेत छ । यसैगरी नेपाल टेलिभिजनको आवश्यक टावर केन्द्र र रेडियो नेपालको प्रसारण केन्द्रसमेत रहेका छन् ।