बर्दिया, २८ साउन । श्रीमान् बेपत्ता पारिएपछि दुई छोराछोरी र घरको सबै जम्मेवारी पूरा गर्न बाँसगढी नपा–८ ककौराकी ३५ वर्षीय प्रेमकुमारी थारू सङ्घर्ष गर्दै आएका पनि १६ वर्ष पुग्न थाल्यो ।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले २०६० साल चैत ४ गते गाउँको चोकबाट श्रीमान् प्रेमबहादुर थारूलाई अपहरण गरी बेपत्ता बनाएपछि प्रेमकुमारीको दुःख दिन शुरु भएको थियो । प्रेमबहादुर मरेको वा जिउँदो छ भन्ने अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । तर प्रेमकुमारीले श्रीमान् फर्किएर आउँला भन्ने आशा मारेकि छैन ।
छोराछोरी र आफ्नै भोक मेट्न तथा घरव्यवहार चलाउन केही त गर्नुप¥यो भन्दै उनले दुःख र पीडाको शुरुआतका दिनमा मजदूरी गर्दै आफन्तसँग सहयोगको हात फैलाउँदै जसोतसो गुजारा चलाउँदै आएको अनुभव सुनाईन । “दुई छोराछोरी हुर्किंदै गएपछि खर्च पनि बढ्न थाल्यो । सधैँजसो मजदुरी नपाउने र पाँच कठ्ठा जग्गाको कृषि उत्पादनले खानलाई पनि नपुग्ने भयो”, उनले भनिन्, “छोराछोरीको पढाइ लेखाइसहित अन्य खर्च पनि बढेपछि आयस्रोत बढाउनुपर्ने बाध्यता भयो । विकल्पको खोजी गर्नुपर्ने भयो । अब के गर्ने भन्ने कुरा मनमा खेलाउँदै गर्दा विकल्पका रुपमा केही सीप सिकेर काम गर्ने कि भन्ने मनमा आयो ।”
उनी सिलाइकटाइ सिकिन्, ऋण काढेरै भए पनि सिलाइ मेशिन किनेर घरमै कामको शुरुआत गरिन् । सामान्य नयाँ र उद्धिृएका लुगा सिलाएर दैनिक पाँच सयसम्म कमाउन थालिन् । गाउँलेहरु पनि टाढा बजार जानुभन्दा उनी कहाँ आउन थाले । उनको आम्दानी बढ्न थाल्यो । यसबाट घरको दैनिक खर्च र छोराछोरीको पढाइ खर्च उनले धानेको छ ।
प्रदेश नं ५ सरकारले द्वन्द्वपीडितहरुलाई सहयोग कार्यक्रमअन्तर्गत सीपअनुसारको यन्त्र सिलाइ मेशिन दिएपछि उनलाई थप हौसला मिलेको छ । आफैँले किनेको मेशिन पुरानो भएर नयाँ कसरी किन्ने चिन्ता गरिरहेको बेला नयाँ सिलाइ मेशिन सहयोग पाउँदा सिकेको सीप प्रयोग गरी रकम आम्दानी गर्न सहयोग पुगेको छ । पाएको कामलाई फर्काउन परेको छैन । बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा थारूले प्रेमकुमारीले दुःखको अवस्थामा पनि आत्मनिर्भर हुन गरेको सङ्घर्ष र प्रगतिले उनीजस्तै अन्य पीडित महिलालाई प्रेरणा हुन सक्ने बताईन ।
प्रदेश सरकारले द्वन्द्वपीडितहरुलाई सहयोग कार्यक्रमअन्तर्गत बाँसगढी नपाका १५ जना द्वन्द्वपीडितलाई सिलाइ मेशिन, कृषि यन्त्र हस्तान्तरण गरिएको र आगामी दिनमा पनि त्यस किसिमको कार्यक्रम राखी सहयोग गर्ने पनि प्रतिबद्धता पनि उनले व्यक्त गरिन ।
प्रेमकुमारीले सिलाइको काम मात्रै नभएर अलि अलि गरी बचाएका पैसाले घरमै सानो खुद्रा पसल पनि शुरु गरेकि छन । खुद्रा पसलबाट सामान बिक्री पनि राम्रै आम्दानी हुन थालेको छ । यसले उनलाई थप आत्मबल पुगेको छ । “श्रीमान्लाई बेपत्ता पारेपछि सबै सकियो जस्तो लाग्थ्यो । तर जीवन त्यसै नबित्दो रहेछ । छोराछोरीकै लागि भए पनि सङ्घर्ष गर्दै जाँदा अहिले साँच्चिकै जिउनका लागि अरूको सहारा खोज्नु पर्दैन भन्ने आत्मविश्वास बढेको छ ।”
अहिले उनको छोरा एसइई गरेर १२ पढ्दैछन् । छोरी पनि एसइई दिएर ११ कक्षा पढ्ने तयारी गर्दै छिन । दुःख र पीडामा जिउनका लागि गरेको सङ्घर्षले आर्थिक स्तर मात्रै बढाएको छैन, आफ्नै परिवार र समाजका अरूले हेर्ने दृष्टिकोण र सम्मान पनि बढेको छ । प्रेमकुमारी जस्तै सङ्घर्ष गरिरहेका धेरै महिलाहरुलाई सम्मान गर्नुपर्ने र उनीहरुलाई आत्मर्निर बनाउने कार्यक्रम स्थानीय तह र प्रदेश सरकारले ल्याउनुपर्नेमा द्वन्द्वपीडित समिति बर्दियाका सचिव मायाराम थारूले बताईन् ।
उनले महिलाहरुले आफ्नो सीपलाई विकास गर्नुपर्छ । काम सानो ठूलो भन्ने नै हुँदैन । जे जानेको छ, त्यसलाई व्यवसायिक रुपमा गर्ने जाँगर देखाउनुपर्ने उल्लेख गर्दै उनले सामान्य कामबाट सुरुवात गर्दा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रेमकुमारी थारूले देखाएकी छिन् ।
“आर्थिक रुपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्यो भने कसैबाट पनि महिलाले अपहेलित हुनु पर्दैन्” “कतिपय महिलाहरुले चेतनाको अभावको कारण पनि धेरै काम गर्न सकेकि छैनन् । अब महिलाहरुले पनि आफ्नो चेतनास्तरमा अभिबृद्धि गर्नुपर्छ ।”