न्यून रोजगारी र मुद्रास्फीतिसँगै संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र सामान्य गतिमा अघि बढिरहेको छ । सामान्यतया यस्तो अवस्थाले अमेरिकी राष्ट्रपति र सर्वसाधारण जनतासँगको सम्बन्धमा जटिलता ल्याउने देखिन्छ । राष्ट्रपति ट्रम्पप्रति मुस्किलले ४० प्रतिशतभन्दा न्यून अमेरिकीको समर्थन छ, जुन समय अमेरिकामा आर्थिक मन्दी थियो । निश्चय नै ट्रम्पको वास्तविक लोकप्रियता सर्वेक्षणमा उल्लेख गरेभन्दा केही उच्च हुन सक्छ, किनकि गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनीबारे गरिएका विभिन्न भविष्यवाणी फेल खाएका थिए ।
ट्रम्पले आफूप्रतिको समर्थनलाई कायम राखेको भए शपथ लिएपछिको हनिमुन अवधि क्षणिक हुने थिएन । तर, त्यसविपरीत ट्रम्पले औपचारिक रूपमा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि आफ्ना भद्दा अभिव्यक्ति सच्चाएर विनम्र रूपमा प्रकट हुन्छन् भन्ने आशा गरेका आफ्नै रिपब्लिकन पार्टीका नेता र सांसदहरूको सहयोग गुमाउन थालेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि हालसम्म ट्रम्प संसद्बाट महत्वपूर्ण विधान र नीति–निर्माण गर्न विफल रहेका छन् । तथापि ऊर्जा, शिक्षा, वित्त र श्रमलगायतका केही क्षेत्रमा पूर्वराष्ट्रपति बाराक ओबामाका हानिकारक, नियामक र प्रशासनिक रूपमा अलोकप्रिय आदेशलाई एकपछि अर्को गर्दै उल्टाएर अर्थतन्त्रमा भने केही योगदान दिएका छन् ।
ट्रम्पको अतिवादी अभिव्यक्तिबाट आफूलाई टाढा राखेका रिपब्लिकन पार्टीबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने केही सदस्यले अझै पनि ट्रम्पको मुख्य नीति तथा प्रस्तावको समर्थन गर्छन् । त्यस्तै, चार्लोटेसभिल्ला, भर्जिनियालगायतका स्थानमा श्वेतवादीको प्रदर्शनमा भएका हिंसा रोक्न ट्रम्पले पहल नगरेको गुनासो गर्ने कंग्रेसका सदस्यहरू ओबामाले भिटो प्रयोग गरेका विधान ट्रम्पले ब्युताउने आशा गरिरहेका छन् ।
ट्रम्प राष्ट्रपति कार्यालय ओभल अफिस, उनी चढ्ने विमान एयर फोर्स ओन वा उनको मार ए–लागो रिसोर्ट जहाँसुकै बसे पनि अन्य राष्ट्रपतिहरूजस्तै हावाले भरिएको ठूलो बेलुनमाथि बसेका हुन्छन् । जहाँ वरपर बसेका मानिसहरूले सामान्यतया ट्रम्पले सुन्न चाहेका कुराहरू मात्र भन्छन् । त्यसैले, ह्वाइटहाउसभित्र रहँदा वा बाहिर जाँदा सल्लाहकार र सहयोगीका साथ हिँड्नु निकै महत्वपूर्ण हुन्छ किनकि, राष्ट्रपतिले बाटो बिराउँदा सल्लाहकारहरू सुझाब दिन तयार हुन्छन् ।
तर, राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूलाई सार्वजनिक रूपमा नै गालीगलोज गरेर वातावरणलाई निकै जटिल बनाइरहेका छन् । साथै आफ्ना निकट व्यक्तिसँग के गर्न आवश्यक होला भनेर सुझाब लिइरहेका छन् ।
राष्ट्रपतिलाई सत्य सूचना र प्रभावकारी नीति तथा विकल्प दिइएको छ भन्ने सुनिश्चित गर्न अझै बढी अनुशासित प्रक्रिया विस्तार गर्नु उनको प्रशासनको उच्च प्राथमिकता हुनुपर्छ । त्यसका लागि नौसैनिक टुकुडीका सेवानिवृत्त जनरल जोन केलीलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गर्ने ट्रम्पको निर्णय महत्वपूर्ण कदम थियो । त्यस्तै, मुख्य रणनीतिकार तथा हार्डलाइनर स्टेभ ब्यानोनलाई बर्खास्त गर्ने र अमेरिकाको अफगानिस्तान नीतिको योजनाबद्ध समीक्षा गर्नुु ९जसले अफगानस्तानमा अमेरिकी नीतिबारे ट्रम्पको दिमाग नै परिवर्तन गरिदिएको छ० उनका महत्वपूर्ण कदम थिए । केलीले अहिले पूर्ण रूपमा सूचना प्रवाह र सर्वसाधारण मानिसहरूको राष्ट्रपतिसमक्ष पुग्ने पहुँच नियन्त्रण गरिदिएर केही हदसम्म अनुशासन कायम गरेका छन् । अब ट्रम्प आफैँ अनुशासित हुन्छन् या हुँदैनन् भन्ने कुरा हेर्न बाँकी छ ।
आफूलाई पदीय मर्यादामा राख्न कतिपय अमेरिकी राष्ट्रपतिहरू चुकेका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पनि अनुशासनको खडेरी थियो । क्लिन्टन प्रशासनले स्वास्थ्योपचार सुधारबारे असफल प्रयत्न गर्योस र सन् १९९४ को मध्यावधि निर्वाचनमा आफ्नै पार्टी डेमोक्र्याटिकलाई हार चखायो । तर, क्लिन्टनले उल्लेख्य सुधारका कदम चाले । नयाँ समूहलाई आफ्नो सहयोगीका रूपमा नियुक्त गरे, आफूलाई सदावहार राजनीतिको केन्द्रबिन्दुमा राख्न सफल भए, सन् १९९६ मा सम्पन्न राष्ट्रपति निर्वाचमा निर्वाचित भए र बजेट तथा सुधारका लागि रिपब्लिकनको बाहुल्यता भएको कंग्रेस ९अमेरिकाको तल्लो सदन०को मन जित्न सफल भए ।
त्यसैगरी, तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा सन् १९८२ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकनले ठूलो हार सामना गर्नुपरेको थियो । सो अवधिमा रेगनको समर्थनमा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको कठोर अवस्थितिका कारण अमेरिका गहिरो आर्थिक मन्दीबाट गुज्रिएको थियो । तर, रेगनको कर कटौती गर्ने निर्णय र घट्दो सैन्य खर्चका कारण अमेरिकी अर्थतन्त्र पुनर्जीवित भयो । सन् १९८४ मा भएको राष्ट्रपति निर्वाचनमा रेगन सानदार मतका साथ पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
अर्का पूर्वराष्ट्रपति जिम्मी कार्टरको प्रशासन भने कहिल्यै पनि समस्यासँग मुकाबिला गर्न सकेन र अहिले पनि कार्टर प्रशासनलाई असफल कार्यकालका रूपमा चित्रण गरिन्छ । आफ्नो कार्यभार सम्हालेपछि सम्पूर्ण अमेरिकी राष्ट्रपतिहरू आफ्नो घरेलु तथा आर्थिक नीति–निर्माण गर्ने अधिकारलाई कंग्रेस र अदालतले अंकुश लगाइदिएको महसुस गर्छन् । तर, उनीहरू विदेश र राष्ट्रिय सुरक्षा मामिलाका कारण धेरै प्रभावित हुन्छन् । सुरक्षा मामिलामा सहयोगी र विरोधी दुवै पाएका पूर्वराष्ट्रपति ओबामाको तुलनामा ट्रम्पले आफू बढी शक्तिशाली बन्दै गएको सुनिश्चिता गरेका छन् । एसियाली मुलुक उत्तर कोरियाले आफ्ना आणविक गतिविधिलाई तीव्र पारिरहेको, दुई पटकसम्म अन्तरमहादेशीय क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको र अमेरिकी भूभागमा मिसाइल आक्रमण गर्ने चेतावनी दिइरहेको परिप्रेक्षमा सेनाको वास्तविक परीक्षण गर्ने ट्रम्पको रणनीति छ ।
सन् १९९२ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको कार्यकालमा देखिएको क्युबेली मिसाइल संकट अहिलेको अवस्थासँग मेल खान्छ । क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रो शासनलाई अस्थिर बनाउने प्रयत्न गर्दा केनेडी प्रशासनको खुट्टामा नराम्रोसँग ठेस लागेको थियो । अमेरिकी सेनाको सहयोगमा विद्रोह गरेका क्युबेली विद्रोहीलाई बे अफ पिग्समा क्यास्ट्रोका सेनाले धुलो चटाइदिएपछि अमेरिकी सेना नीलो मुख लगाएर स्वदेश फर्किएका थिए । तर, क्रेमलिनविरुद्ध कठोर भएर उभिँदा केनेडीले संकटको शान्तिपूर्ण समाधान गरेका थिए । सोभियत युनियनले आफ्ना आणविक मिसाइल क्युबाबाट हटाएपछि अमेरिकाले चुपचापसँग टर्कीबाट मिसाइल हटाएको थियो । निश्चयन नै उत्तर कोरियाली तानाशाह किम जोङ उनले तत्कालीन सोभियत शासकले भन्दा फरक ढंगले राजनीतिक आँकलन गरेका छन् र अमेरिकाले कोरियाली प्रायद्वीपमा गरेको रणनीतिक अवस्था तत्कालीन केनेडी सरकारले क्युबामा गरेकोभन्दा निकै डरलाग्दो छ । उत्तर कोरियासँग ठूलो परिमाणमा घातक आणविक हतियार छन्, जुन कुनै पनि वेला नजिकैको मुलुक दक्षिण कोरियाका लाखौँ नागरिकहरूको टाउकोमा बर्सिन सक्छ ।
ट्रम्पले सेनाको परीक्षण गर्ने अभिव्यक्ति बारम्बार दिएका छन् । ट्रम्पको कडा अडान सफलसिद्ध भएमा मात्र उनका अन्य अपिलले काम गर्न सक्छ । ट्रम्पको विवादास्पद स्वभावभन्दा पनि उनको वास्तविक निर्णय गर्न सक्ने क्षमताले बढी अर्थ राख्छ । तर, उनको स्वभावले उनीसँग उपलब्ध विकल्पहरूलाई असर गर्न सक्छ । यदि उनीप्रति सर्वसाधारणको मुूल्यांकनमा निकै गिरावट आएमा कंग्रेसका नगन्य सदस्यहरूले मात्र उनको कुरा सुन्नेछन् र धेरै कंग्रेस सदस्य ट्रम्पको विपक्षमा उत्रिनेछन् । राम्रो खबरलाई ट्विटर आक्रमणद्वारा निष्प्रभाव पार्न खोज्ने ट्रम्पको चाहनाका कारण वामपन्थी मिडियाले उनको व्यक्तित्वलाई आवश्यकताभन्दा बढी बढाइचढाइ गर्ने र उनको प्रशासनको सारभूत सफलतालाई बेवास्ता गर्न सक्छन् ।
उदाहरणका लागि तीन साताअघि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव पारित भएपछि उत्तर कोरियाबाट विभिन्न सामग्री आयात गर्दै आएको चीनले आयात कटौती गर्ने घोषणा गरेपछि विश्वका अधिकांश मानिसहरूको आँखा ट्रम्पतर्फ केन्द्रित थियो । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिबन्धपछि उत्तर कोरियाले प्रशान्तसागरस्थित अमेरिकी भूमि गुआममा चारवटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो ।
राजनीतिमा अमेरिका गहिरो रूपमा ध्रुवीकरण भएको देश हो । तर, प्रायः जल्दाबल्दा विषयमा आमअमेरिकी नागरिक समस्याको समाधान विवेक र सुझबुझपूर्ण ढंगबाट भएको देख्न चाहन्छन् । नयाँ सरकारले सीमित भूमिका खेलोस् भन्ने आमनागरिकको चाहना छ । कर कटौती गर्ने, अमेरिकी पूर्वाधार विकास गर्ने र पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्यसम्बन्धी कानुन ‘ओबामा केयर’लाई हटाउने वा संशोधन गर्ने भन्ने कुरा ट्रम्पको हातमा छ । सफलता प्राप्तिका लागि उनले तार्किक विरोधी दृष्टिकोणको सम्मान गर्नु आवश्यक छ र आफूप्रतिको समर्थन फराकिलो बनाउन आफ्नो अतिवादी अडान न्यून गर्दै जानुपर्छ । तर, यसका लागि उनले कंग्रेससँग सहकार्य गर्नुपर्छ, जसरी रोनाल्ड रेगन र क्लिन्टनले गरेका थिए । यदि उनले त्यसो गर्न सकेमा आफ्नो राष्ट्रपतिकाललाई कायापलट गर्न, आलोचकलाई अलमलमा पार्न सक्नेछन् र सकारात्मक विरासत छाड्नेछन् । के उनले यी कार्य गर्न सक्छन् त <
मिसेल जे बोस्किन स्ट्यान्फोर्ड युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक र हुभर इन्स्टिच्युटका वरिष्ठ रिसर्च फेलो हुन् । उनी जर्ज डब्लु बुसको आर्थिक सल्लाहकार परिषद्मा १९८९ देखि १९९३ सम्म अध्यक्षको भूमिकामा थिए ।