बुटवलमा अत्याधुनिक सपिङ कम्प्लेक्स

खस्यौली, २६ साउन । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवन निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका छन् ।

उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरे। बुटवललाई आर्थिक कारोवारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो ।

सो कार्यका उपमहानगरपालिका र कोष बीच गत फागुनमा सम्झौता भएको थियो । भवनका लागि रु १० करोड ८४ लाख खर्च हुने अनुमान गरिएको छ । विसं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए। तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्डबमोजिमका व्यावसायिक सटर निर्माण गरिने भएकामा मा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७सटर निर्माण गरिने बताइएको छ ।