गुल्मीका पहिरो पीडितको पुनर्बासको जिम्मा प्रदेश सरकारले लिने

गुल्मी, २६ साउन । जिल्लाको सत्यवतीका गाउँपालिकामा पहिरोले घरबासविहीन भएका परिवारको पुनर्वासको जिम्मा ५ नं। प्रदेश सरकारले लिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले भूगर्भविद्को प्रतिवेदन, पहिरोले बस्नै नमिल्ने गरी भत्किएका घरपरिवार र प्रदेश सरकारको अध्ययन टोलीले दिने प्रतिवेदनका आधारमा वास्तविक पीडित पहिचान गरी पुनर्वासका लागि पहल गर्ने बताए ।

प्रभावित गाउँका नेकपाका नेताको प्रतिनिधि मण्डल बिहीबारदेखि प्रदेश सरकारका मुख्यमन्त्रीसहित अन्य मन्त्रीसँगको भेटघाटमा छ । भेटकै क्रममा स्थानीय सरकारले जग्गा व्यवस्थापन गरेको खण्डमा सरकारले आवास योजनामार्फत पुनर्वासको जिम्मा लिने मुख्यमन्त्रीले बताएको टोलीका संयोजक एवं विपत् व्यवस्थापन तथा पुनःस्थापना सहजीकरण उपसमिति संयोजक अमर सिजापतीले बताए।

मुख्यमन्त्री पोखरेलसहित सिंगो प्रदेश सरकार नै पहिरो प्रभावितको उद्धार, राहत तथा पुर्नस्थापनामा गम्भिर छ । ‘प्रभावितको पूर्ण तथ्यांक आएपछि पुर्नस्थापनाका लागि योजना बनाउने सरकारको तयारी छ,’ उनले भने ‘विस्थापितका लागि एकिकृत बस्ती निर्माण गर्न प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त योजना गराउने गरी छलफल चलिरहेको छ ।’

स्थानीय सरकारले जग्गा व्यवस्थापन गर्न सके प्रदेश सरकारले आवास निर्माण गर्ने मुख्यमन्त्रीको धारणा रहेको उनले बताए । पहिरोबाट विस्थापितका लागि सत्यवती गाउँपालिका–४ लिम्घामा वडाकै पहलमा जग्गा व्यवस्थापनको काम भईरहेको वडा अध्यक्ष दानबहादुर रानाले बताए । ‘नजिकैको बारीमा एकिकृत बस्ती बसाउने गरी तयारी र छलफल भईरहेको छ, ।

त्यस्तै पहिरोबाट बढी प्रभावित भएको सत्यवती–३ ठुलो लुम्पेकमा पनि एकिकृत बस्तीका लागि सत्यवती–१ अस्लेवा र लुम्पेककै अर्को स्थानमा स्थानान्तरणका लागि प्रयास भईरहेको वडा अध्यक्ष रुकबहादुर रानाले बताए । ‘अस्लेवाको रामवारी वा लुम्पेककै चेमी, पाँहदीमा हुन सक्छ कि भनेर प्रयास गर्दै छौं,’ उनले भने। त्यहाँ १८ घर पूर्ण क्षति र ३ सय ७ घर उच्च जोखिममा छन् ।

Loading...