लाखेनाच प्रदर्शन

खोटाङ, २६ साउन । छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् ।

नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो । साउन १४ गतेबाट शुरु भएको लाखेजात्राको अवसरमा पाहुना टोलीको प्रस्तुतिले दिक्तेलबजारमा रौनकता छाएको थियो ।

दुई जिल्लाका नेवार समुदायको संयुक्त प्रस्तुतिले दिनभर दिक्तेलबजारका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो । दिक्तेलबजारको हाटडाँटाबाट बिहान ११ बजेबाट शुरु भएको लाखेनाच तथा सांस्कृतिक झाँकी साँझ रत्नपार्कमा पुगेर टुङ्गिएको थियो ।

आफ्नो संस्कार-संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्न दुई जिल्लाका नेवार समुदायबीच शनिबारबाट भगिनी सम्बन्ध कायम गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजूले बताए । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका नगरप्रमुख होमन श्रेष्ठको रोहवरमा दुई संस्थाबीच आगामी दिनमा भगिनी सम्बन्ध कायम राख्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

महीना दिनसम्म मनाइने लाखेजात्राको अवसरमा जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको आयोजक दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूले बताए । “गठेमङ्गलको दिनबाट विधिवतरूपमा शुरु भएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट औपचारिकरूपमा समापन गरिन्छ”, उनले भने, “यसबीचमा वर्ष दिनभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँजात्रा, हिलेजात्रा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तयारी गरिएको छ ।”

दिक्तेलबजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण मुखुण्डोधारी लाखेनाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुको नक्कल गर्दै मुखुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।

लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्ने जनाइएको छ । लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुख आदानप्रदान गर्ने गर्छन् ।

लाखेजात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेशा-व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्य पनि लाखेजात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् ।

Loading...