काठमाडौं, २५ साउन । सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो पटक टेक्सास राज्यको एल पासोको वाल्मार्टमा सन् २०१९ अगष्ट ३ मा एक व्यक्तिले गोली चलाउँदा २२ जनाको मृत्यु भएको भोलिपल्टै ओहायो राज्यको डेटनमा ९ जनाको सामूहिक हत्या भयो । मेक्सिकाली नागरिकहरुको बाहुल्य रहेको एल पासो घटनामा केही मेक्सिकालीको पनि ज्यान गएको थियो ।
हत्यामा संलग्न व्यक्तिले आप्रवासीका कारण अमेरिकाको अस्तित्व नै सङ्कटमा पर्न लागेको भन्दै अमेरिकी राष्ट्रपतिका कदमहरुको समर्थन गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) ले यी दुबै घटनालाई अमेरिकी आतंकबादी घटना हो कि भन्ने दृष्टिबाट अनुसन्धान थालेको छ ।
संयुक्तराज्य अमेरिकामा भएका पछिल्ला केही डरलाग्दा गोलीकाण्डहरु हेरौं । फ्रान्सेली समाचार संस्था एएफपीको विवरण अनुसार सन् २०१७ अक्टोबर १ मा लास भेगासमा भएको एउटै गोलीकाण्डमा ५८ जना मारिएका थिए । यस घटनामा झण्डै ५५० जना घाइते भएका थिए । गोली चलाउने ६४ वर्षीय एक जना अवकाशप्राप्त लेखा अधिकृतले गोलीकाण्ड मच्चाए लगत्तै आत्महत्या गरेका थिए । अमेरिकी इतिहासमा एउटै घटनामा यतिधेरै मानिस मारिएको यो पहिलो घटना हो ।
सन् २०१६ को जुन १२ मा ओर्लान्डो शहरको एउटा समलिङ्गीहरुको पल्स रात्रिक्लबमा गोली चलाउँदा ४९ जना मारिएका थिए । प्रहरी कारबाहीमा ती व्यक्ति मारिएका थिए । उनले आफू इस्लामिक स्टेट समूहको विचारधाराबाट प्रभावित भएको बताएका थिए ।
सन् २०१२ डिसेम्बरमा कनेक्टिकटमा एकजना २० वर्षीय युवाले आफ्नी आमाको हत्या गरी स्यान्डी हुक इलिमेन्टरी स्कुलमा बम बिस्फोट गराउँदा स्कुले बालबालिका र शिक्षक समेत गरी २६ जनाको ज्यान गएको थियो ।
सन् २०१७ नोभेम्बर ५ का दिन टेक्सासको सान एन्टोनियोमा एउटा गिर्जाघरमा प्रवेश गरेका एक २६ वर्षीय व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा गिर्जाघरमा भेला भएका २५ जनाको मृत्यु हुनुका साथै कम्तीमा २५ जना घाइते भएका थिए । अमेरिकी वायु सेनाको कारबाही (कोर्टमार्सल)मा परेका उनले आत्महत्या गरेका थिए ।
फ्लोरिडाको पार्कल्यान्डको मर्जोरी स्टोनम्यान डग्लस स्कुलका १९ वर्षीय पूर्व विद्यार्थीले स्कुलभित्र प्रवेश गरेर गोली चलाउँदा १७ जना स्कुले विद्यार्थी र शिक्षकको ज्यान गएको थियो । सन् २०१८ फेब्रुअरी १४ को यस घटनामा संलग्न ती पूर्व विद्यार्थीलाई स्कुलले अनुशासनको कारबाही गरेर स्कुलबाट निकालेको थियो ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । अमेरिकी इतिहासमा क्यालिफोर्निया अफिस पार्टी, भर्जिनिया बिच, क्यालिफोर्निया बार, कोलोराडोको सिनेमा घर, पिट्सबर्गको यहुदी प्रार्थना घर, सान्ता फे स्कुलमा भएका घटनामा निहत्था सयौं व्यक्तिको ज्यान गएको थियो ।
अमेरिकी प्यू रिसर्च सेन्टरका अनुसार ५० वर्ष उमेर नाघेका एक तिहाई अमेरिकीले आफूहरुसँग बन्दुक रहेको बताएका थिए । बन्दुकको स्वामित्व रहने युवाको दरमा भने कमी आएको देखिएको छ अर्थात् २८ प्रतिशतसँग बन्दुक छ ।
बन्दुक राख्नेहरुमा बढीजसो गोरा जातिका मानिस छन् । सन् २०१७ मा बन्दुकजन्य अपराधका घटनाबाट झण्डै ११ हजारको ज्यान गएको थियो । विश्वका शक्तिसम्पन्न र धनाढ्य मुलुकमा यो सबैभन्दा डरलाग्दो अवस्था हो । नागरिक स्तरमा विश्वमा बन्दुक राख्ने मुलुकमा सबैभन्दा माथि अमेरिका छ ।
अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले सन् २०१८ मा बन्दुकजन्य अपराधका घटनामा झण्डै ४० हजारको ज्यान गएको जनाएको छ । विगत ५० वर्षमा यो आँकडा सबैभन्दा ठूलो हो ।
सन् २०१६ मा बन्दुकसँग सम्बन्धित घटनाका कारण अमेरिकामा ३८ हजार ८५८ जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । जसमा आत्महत्याका निम्ति २२ हजार ९३८ जनाले बन्दुकको प्रयोग गरेका थिए । यस्तै १४ हजार ४१५ जनाको हत्या बन्दुक प्रहारबाट भएको थियो ।
अमेरिकी बन्दुक कानुनमा कडाई गर्ने वा नरम नीति ल्याउने भन्ने बारेमा अमेरिकी जनमत बाझिएको छ । ग्यालपको पछिल्लो मतसर्वेक्षणमा बहुसंख्यक अमेरिकीहरु (करिब ४६ प्रतिशत) अमेरिकी बन्दुक कानुन र नीतिप्रति बेखुशी रहेको देखिएको छ ।
उनीहरुले बन्दुक खरिद गर्ने र राख्ने सन्दर्भमा कडा नियमहरु अवलम्बन गर्नुपर्ने मत राखेका छन् । मानसिक अस्वस्थ वा प्रहरीको “वाच लिस्ट” मा परेकाहरुको हातमा बन्दुक पुग्न नदिन विशेष ध्यान दिनुपर्ने माग सर्वत्र भइरहेको छ ।
तर अमेरिकामै सर्वाधिक शक्तिशाली मानिएको राष्ट्रिय राइफल संघ (एनआरए) ले अमेरिकामा बन्दुकको नियन्त्रण गर्नै नहुने पक्षमा लबिङ गरिरहेको छ । संघले नागरिकका हातमा बन्दुक भएमा मुलुक बढी सुरक्षित हुने तर्क गरिरहेको छ । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकी बन्दुक नीतिलाई प्रभावित तुल्याउन सक्षम ठानिएको यस संघले लबिङकै लागि वार्षिक करिब ५२ लाख अमेरिकी डलर खर्च गरिरहेको छ ।
अमेरिकामा बन्दुक राख्ने प्रत्येक पाँचमा एक व्यक्ति एनआरएको सदस्य छन्, यसमा रिपब्लीकन समर्थकहरुको बाहुल्यता छ । संघले कडा बन्दुक नीतिको विपक्षमा वकालत गर्ने व्यक्तिलाई चुनावमा सघाउने गरेको छ ।
अमेरिकामा पछिल्ला केही वर्षदेखि बन्दुक किन्न र राख्न खोज्ने व्यक्तिमाथि कडा नियमहरु लगाउनु पर्ने माग राखी राजधानी वासिङ्टन सहित देशका ठूला शहरमा प्रदर्शनहरु भइरहेका छन् । यी प्रदर्शनमा डेमोक्र्याटिक पार्टीको पनि समर्थन रहेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लीकन पार्टीले एनआरएको प्रभावमा बन्दुक कानुन र नीतिमा सुधार गर्न चाहेको देखिन्न ।
अमेरिकी राष्ट्रपतिले सार्वजनिक रुपमै अल्पसंख्यक र आप्रवासीका बारेमा राख्ने धारणाले अमेरिकी समाजमा नैराश्यता, घृणा फैल्याएको र समाजलाई नै विभाजित गर्नुका साथै हिंसातर्फ उक्साएको आरोप लाग्ने गरेको छ ।