विद्युत् चुहावट १२ प्रतिशतले घट्यो

लहान, २४ साउन । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ ।विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो ।

गत आव ०७३÷७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आर्थिक बर्ष ०७४÷०७५ मा विद्युत् चुहावट ३४ दशमलव ८८ प्रतिशत झेरेको र आव ०७५÷७६ सकिँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

यस्तै आव ०७५÷७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ जना ग्राहकको विद्युत् लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ ।

त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३७ जनालाई पक्राउ गरी जरिवानाबापत रु ६७ लाख ८० हजार ११५ राजश्व सङ्कलन भएको जनाएको छ ।

सो क्रममा ४४३ थान विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताए। त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारवाही गरी रु २१ लाख १७ हजार ६३३ राजश्व सङ्कलन गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।

Loading...