दमास्कस, २३ साउन । अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।
विज्ञप्तिमा अमेरिका र टर्कीको यस सम्झौताले खतरा बढाउने तथा विश्वमा शान्ति र स्थिरतालाई खतरामा पार्नेलगायत सिरियाली द्वन्द्वबाट मुक्त हुन सम्पूर्ण प्रयासलाई कमजोर पार्ने उल्लेख छ ।यो सम्झौताले सिरिया विरुद्धको आक्रमणमा अमेरिका र टर्कीको साझेदारी उजागार गरेको उल्लेख गरिएको छ ।