मापुतो, २१ साउन । मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ ।
सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको छ । मुलुकमा दिगो शान्ति स्थापनाका लागि दुई समूहबीच यो तेस्रो सम्झौता हुनेछ ।मोजाम्बिकका राष्ट्रपति फिलिपे न्यूसी र रेनामो नेता ओस्सुफो मोमाडेबीच गत बिहीबार दुबै पक्षबाट सैन्य कारबाही अन्त्य गर्ने समझदारी भएको थियो ।
आगामी अक्टोबर १५ मा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा यो सम्झौता हुन लागेको हो । यो सम्झौता गराउन रेनामोका नेता अफोन्सो ढ्लाकामाले पनि लामो समयदेखि प्रयत्न गर्नुभएको थियो तर उहाँको गत वर्ष निधन भएपछि अन्यौल बढेको थियो ।
गरिबीको चपेटामा परेको दक्षिण अफ्रिकी मुलुक मोजाम्बिकमा राष्ट्रपति र संसदको निर्वाचन हुने गरेको छ । विगत ४० वर्षदेखि मुख्य सत्तारुढ पार्टी फ्रेलिमो नै लगातार विजयी हुँदै आइरहेको छ ।
आगामी चुनाव पनि यही पार्टीले जित्ने आँकलन गरिएको छ ।सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्र भएलगत्तै फ्रेलिमो सरकार विरुद्ध रेनामोले १६ वर्षसम्म शसस्त्र संघर्ष गरेको थियो । यस हिंसात्मक द्वन्द्वमा करिब दश लाखको ज्यान गएको थियो ।
तर सन् १९९२ को शान्ति सम्झौतापछि विद्रोही समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । इटालीको रोममा सम्झौता भएपछि सन् १९९४ मा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाका आधारमा संसदको निर्वाचन भएको थयो ।
रेनामो उक्त चुनावमा पराजित भयो । रेनामोले चुनावमा लगातार पराजय भोगे पनि मोजाम्बिकको मुख्य विपक्षी पार्टीका रुपमा स्थापित छ ।अक्टोबर २०१३ मा रेनामोले सन् १९९२ को शान्ति सम्झौता अन्त्य भएको घोषणा गरेको थियो । सरकारी सैनिकले रेनामोका सैनिक अखडामा आक्रमण गरेको रेनामोले आरोप लगाएको थियो ।
रेनामोका सैनिक र सरकारी फौजबीच सन् २०१३ देखि २०१६ सम्म पुनः युद्ध भयो । गृहयुद्धको अन्त्य र रेनामो पार्टीले आफूलाई राजनीतिक दलका रुपमा रुपान्तरण गरेपनि रेनामोले लडाकू सेना यथावत राखेको थियो ।
गत साता रेनामोले पुनः आफ्ना लडाकू सेनालाई बिघटन गर्न थालेको छ । सम्झौतामा कतिपय विद्रोही लडाकूलाई राष्ट्रिय सेना र प्रहरीमा समाहित गरिनेछ भने कतिपयलाई स्वतन्त्र राखिनेछ ।
करिब पाँच हजार २०० जना रेनामो लडाकूले सरकारसमक्ष हातहतियार समर्पण गर्नेछन् ।यस ऐतिहासिक सम्झौता समारोहमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित हुने कार्यक्रम छ ।