जहाज लिने निहुँमा सिंगापुर घुमेर सकियो निगमको लाखौ सम्पति

काठमाडाैं, ११ भदाै । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ।

‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन्। तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन्। सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका छन्।

निगम उच्च स्रोतका अनुसार, इन्जिनियरिङ, क्वालिटी इस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन्। तीमध्ये १८ जना निगमका कर्मचारी हुन्।

‘महाप्रवन्धक कंसाकारले बिदा स्वीकृत गरेपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो र यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो, ‘जो सिंगापुरमा जहाज लिन र हेर्न भनेर गएका हुन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जान पाउँदैनन्, लिएर आउनु त परको कुरा।’

Loading...