न्यू डायमन्डलाई शिवम सिमेन्टले वार्षिक ८ लाख दिने

काठमाडौं । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो ।

शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम् सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउने छन् ।

नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यति रकममा सम्झौता भएको यो पहिलो पटक हो ।
सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले भलिबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए । लामो समयपछि शिवम सिमेन्टसँग न्यू डायमण्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ । यसका लागि कम्पनीका सुरेन्द्र गोयललाई धन्यवाद ।’ राइले थपे ।

हामीलाई अझ राम्रो गर्ने चुनौती थपिएको छ । आजसम्म जस्तो खेलेका छौँ । त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिलबमा नयाँ आयामा थप्ने हाम्रो लक्ष्य छ ।’ वार्षिक प्रायोजन पाएपछि उत्साहित हुँदै राईले भने । ’अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्न थालिसकेका छौँ । यस्तै आगामी दिनमा कसरी अगाडी बढ्ने र राम्रो प्रदर्शन गर्ने भनेर खेलाडी नानीहरुसँग समेत छलफल गरिरहेका छौँ ।’

शिवम् सिमेन्टका सजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भने जस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउदा अझै खुसी लागेको बताए ।

खेलप्रेमीको हैसियतले हामीले न्यू डायमण्डको खेल हेरिरहेका थियौं । एक जना साथीले हाम्रो नाराजस्तै न्यू डायमण्डका खेलाडीले पनि खेलमा कम्प्रमाइज नगरी लागेको भन्नुभयो र हामी पनि सिरियस भएर सोच्यौँ र खेलमा केही गर्नु छ भने न्यू डायमण्डलाई नै गर्नुपर्छ भनेर सहकार्य गरेका हौँ ।’

अहिलेसम्म व्यावसायिकताकै कमीले गर्दा नेपाली भलिबल अगाडि बढ्न नसकेको उदाहरण दिँदै देवकोटाले अब खेलकुदमा पनि व्यवसायीहरुले लगानी गर्न थालेको र व्यावसयिकता भित्रेपछि मात्र खेलकुद राम्रोसँग अगाडि बढ्ने बताए ।

उनले म्याराथन समेत पहिलो पाइलाबाटै अगाडि बढ्ने उदाहरण दिँदै भलिबलमा पनि विस्तारै सहयोग बढाउदै लैजाने बताए । सुरुवात नै ठूलो कुरा हो । खेल राम्रो भएपछि अरुले पनि सहयोग गर्दै जानेछन् र यो रकममा पनि बृद्धि हुँदै जानेछ ।’

यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिव जितेन्द्रबहादुर चन्दले नेपाली भलिलबलको लागि यो सम्झौताले निकै महत्व राख्ने बताए ।

उपाध्यक्ष खड्काले ६÷७ वर्ष अगाडि न्यू डायमण्डमा खेल हेर्न जाँदा निकै दुःखको अवस्था रहेको स्मरण गर्दै आजको दिनसम्म ल्याइपुर्याउन प्रशिक्षक कुमार राईको ठूलो मेहनत रहेको बताए ।

उनले देशलाई चिनाउने माध्यम खेलकुद नै भएको र सामाजिक उत्तरदायित्वका रुपमा व्यवसायीहरुले खेलकुदमा प्रायोजन गरेको बताए ।
यस्तै नेपाल भलिबल संघका महासचिव चन्दले नेपाली भलिबलमा अब राम्रो दिन सुरु भएको र राम्रो खेल्यो भने प्रायोजक पनि आफै आउने बताए ।

प्रशिक्षक कुमार राईले अब छिट्दै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।

Loading...