इरानले एक महिनामै तीनवटा विदेशी तेल ट्याङ्कर कब्जामा लियो

तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचार संस्थाहरूले जनाएका छन् ।

इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारीअनुसार रेभुल्युशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ ।

ट्याङ्करसहित यसका चालक दलका सात सदस्यलाई पनि इरानी पक्षले नियन्त्रणमा लिई अनुसन्धान गरेको बताइएको छ । अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ ।

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट फिर्ता भएपछि अमेरिकाले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको छ । जसका कारण अमेरिका र इरानबीचको सम्बन्धमा निकै तस्क्तता देखिएको छ ।

Loading...