एक वर्षपछि पहिरोपीडित परिवारले नयाँ घर पाए

पर्वत, १५ साउन । बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका यहाँका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
विसं २०७५ साउन १ गतेको बाढी पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो ।

जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा एक पहिरोपीडितका लागि दुईकोठे घर निर्माण भएको हो ।रु ९३ लाख ९४ हजार लागत अनुमान गरिएको पहिरोपीडितको घर पुनःनिर्माणका लागि रु ७९ लाख २८ हजार बराबरको सिमेन्ट, रड, जस्तापातालगायत निर्माण सामग्री सहयोग गरिएको हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको थियो ।

व्यक्तिले चर्चेका सार्वजनिक जग्गामा उनीहरुलाई हटाएर सुकुम्बासी पीडितलाई प्रतिघर साढे दुई आनाका दरले घर बनाउन जग्गा उपलब्ध गराएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । संस्थाको निर्माण सामग्री र प्राविधिक सहयोगमा पीडित आफैँले घर पुनःनिर्माण गरेका वडाध्यक्ष जिसीले बताए ।

लामाखेतमा औपचारिक कार्यक्रम गरेर पहिरोपीडितलाई घर निर्माण भएको प्रमाणपत्र र साँचो वितरण गरिएको थियो ।
घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकामा पीडितहरुले खुशी व्यक्त गरेका छन् । केही पीडितले पहिलेको पहिरो नथामिएका कारण दाताको सहयोगमा नयाँ घर बनाए पनि असुरक्षाका कारण तत्काल त्यहाँ बस्न नसकिने बताएका छन् ।

पहिरोपीडितलाई घर हस्तान्तरणका लागि आएका गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र पर्वतका प्रजिअ कल्पना घिमिरेले असुरक्षित ठाउँमा घर बनाउने खर्चले सुरक्षित ठाउँमा जग्गा खोजेर उपलब्ध गराउन सकेको भए राम्रो हुने बताए ।
अधिकांश पहिरोपीडित दलित समुदायका छन् । भिरको फेदीको पाखोमा घर बनाएर बस्दै आएका उनीहरु सुकुम्बासी हुन् ।

Loading...