हेटौँडा, १५ साउन । मकवानमा एकाबिहानै एउटा कार र ट्रकमा आगजनी भएको छ । उक्त आगजनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुनसक्ने बताइएको छ ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता कार्यकर्ताहरुको गिरफ्तारी विरुद्ध नेपाल बन्दको आह्वान गरेको छ । सोही क्रममा कार र ट्रकमा आगजनी भएको हो । काठमाडौंसँग सीमा जोडिएको मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कारमा आगजनी भएको हो ।
त्यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले हुमाने भञ्ज्याङमा आगजनी गरिएको कार पूर्णरूपमा जलेको छ र मनहरीमा आगजनी गरिएको ट्रकको अगाडिको भाग मात्र जलेको जानकारी दिएका छन् ।
यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।