एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी

पर्वत, १४ साउन । पछिल्लो समय बजारमा बग्रेल्ती सहकारी संस्था सञ्चालनमा आएका छन् । कृषिमा लगानी गर्ने उद्देश्यसहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोवार गर्ने र चर्को ब्याजदर असुलेर मिटरब्याजी कारोवार गर्दै आएको आरोप पनि लाग्दै आएको छ ।

तर सबै सहकारीले ऐन, नियमभन्दा बाहिर गएर कारोवार गर्दैनन् भन्ने उदाहरण बनेको छ– कुश्माको वैँशाली कृषि सहरकारी संस्था । यो सहकारीले मोदी गाउँपालिका वडा नं ४ मा नमूना एकीकृत कृषि फार्म सञ्चालनमा ल्याएको छ । सहकारीले क्याङको अर्किटामा गएको असोजदेखि नमूना एकीकृत कृषि फार्म सञ्चालनमा ल्याएको हो ।

सहकारी संस्थाले दिएको जानकारीअनुसार रु २० लाखको लगानीमा फार्म स्थापना गरिएको छ । फार्मका लागि २० रोपनी जग्गा भाडामा लिइएको छ र त्यहाँ मौसमी र बेमौसमी तरकारी खेती हुँदै आएको छ । पहिलो चरणमा काँक्रा, गोलभेँडा, मुलालगायतका ताजा तरकारी खेती गरिएको सहकारीका व्यवस्थापक लालबहादुर पुर्जाले जानकारी दिए । एक ‘सिजन’मा झण्डै तीन लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । “यस वर्ष राम्रो आम्दानी गर्ने लक्ष्य थियो”, उनले भने, “हिउँदमा असिना र बेमौसमी वर्षाका कारण धेरै क्षति बेर्होनुपरेको छ ।”

सहकारीले अहिलेसम्म आफ्नै लगानीमा फार्म सञ्चालन गरेको हो । प्रदेश सरकार र स्थानीय तहबाट ठूलो रकम अनुदान लिएर फार्म चलाउने तर अनुदानको रकम सकिएपछि व्यवसाय छाड्ने प्रवृत्ति धेरै छ । यस्तो बेला आफैँ लगानी गरेको सहकारीले भविष्यमा फार्म विस्तार गर्ने योजना बनाएको व्यवस्थापक पुर्जाले बताए । भविष्यमा अनुदान नै नलिने नीति भने नरहेको उनको भनाइ छ । सहकारीमा २०६ शेयर सदस्य रहेका छन् । शेयर सदस्य अधिकांश मगर समुदायका व्यक्तिलाई समेटिएको छ ।

सहकारीले कृषिसँगै पशुपालनको योजनासमेत बनाएको छ । बाख्रापालनको राम्रो सम्भावना रहेका कारण आगामी वर्षदेखि ४० बाख्राबाट यो व्यवसाय पनि शुरु गरिने र भविष्यमा कृषि फार्म र बाख्रा फार्म विस्तार गर्ने योजना रहेको व्यवस्थापक पुर्जाको भनाइ छ । फार्ममा ४०० सम्म बाख्रा पाल्ने योजना सहकारीले बनाएको छ ।

Loading...