गणित सिकाइ सुधार्ने महिला शिक्षक समाजको यो काइदा !


काठमाडौं । गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो ।

काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण दिएका थिए ।

गणित शिक्षकहरुलाई विज्ञहरुद्वारा ४ दिनसम्म गणितलाई कसरी सरल तरिकाले सिकाउने, गणित सिकाइमा सूचना प्रविधिको प्रयोग कसरी गर्ने, गणित सिकाइलाई व्यवहारिक र मनोरञ्जनात्मक कसरी बनाउने भनेर सिकाइएको थियो ।

यसैगरी, सो ४ दिने कार्यशालामा गणित विषयको आधार मजवुत कसरी पार्ने, हौसलायुक्त सिकाइ कसरी गर्ने, गणितलाई विद्यार्थीहरुको आकर्षण र रोजाइको विषय कसरी बनाउने भन्ने बारेमा शिक्षकहरुलाई व्यवहारिक सीप दिइएको महिला शिक्षक समाजकी उपाध्यक्ष एवं पद्यकन्या माविकी प्रअ रिता तिवारीले जानकारी दिइन् ।

तिवारीका अनुसार शिक्षकहरुलाई काठमाडौं विश्वविद्यालयमा रहेको म्याथ ल्याव र कम्प्युटरल्यावमा लगेरसमेत व्यवहारिक सीप सिकाइएको थियो । इन्टरनेटबाट गणित सिकाइ सामग्री कसरी संकलन गर्ने, गणित सिकाइमा नयाँ नयाँ विधिहरुको प्रयोग कसरी गर्ने, खेलखेलाउँदै कसरी गणित सिकाउने भन्ने बारे विज्ञहरुले शिक्षकहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा गणित शिक्षकहरुलाई सूचना प्रविधिको प्रयोग गर्न लगाएर, विभिन्न काम र प्रयोगहरु गर्न लगाएर गणित सिकाइलाई कसरी व्यवहारिक, प्रविधिमैत्री, मनोरञ्जनात्मक र सरल बनाउन सकिन्छ भन्नेबारे सिकाइएको समाजकी उपाध्यक्ष एवं जनकल्याण मावि चावहिलकी प्रअ कुमारी कमला राईले जानकारी दिइन् ।

४ दिने कार्यशालामा आफूले गणित सिकाइका आधारभूत कुराहरु अति सरल ढंगले सिकेको सहभागी बालउद्दार मावि कपनकी मावि गणित शिक्षक नमूना दाहालले बताइन् । कार्यशालापछि गणित सिकाइका सन्दर्भमा आफूमा रहेका केही अन्योल हटेको तथा गणितलाई कसरी सूचना प्रविधिको प्रयोग गरेर खेलाउँदै, रमाइलोसँग सिकाउन सकिन्छ भनेर जानकारी मिलेको दाहालले बताइन् ।

कर्यशालापछि आफूलाई आफ्नो ग्णित सिकाइका परम्परागत विधि पुरानो लागेको स्वीकार्दै अब इन्टरनेटबाट नयाँ नयाँ विधिहरु सिक्दै सिकाउँदै जाने उनले स्पष्ट पारिन् ।

अर्का सहभागी बुढानिलकण्ठ माविका गणित शिक्षक मनोज तामाङले अहिलेका विद्यार्थीहरु धेरै अपडेट रहेको अवस्थामा आफ्ना सिकाइका विधि पुरानो भइसकेको कार्याशालाले स्पष्ट पारिदिएको बताए । अब उनीहरुलाई नयाँ टेक्नोलोजीबाट सिकाउने र यसबारे विद्यालयका अन्य शिक्षकहरुलाई पनि जानकारी गराउने उनले स्पष्ट पारे ।

विहीवार देखि शुरु भएको कार्यशालाको आइतवार समापन गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा एसइइमा देशभर गणित विषयको नतिजा खस्किएको अवस्थामा गणित विषयको शिक्षण सिकाइलाई कसरी सुधार्न सकिन्छ भनेर कार्यशाला आयोजना गरिउको मपहला शिक्षक समाजकी अध्यक्ष एवं निलबाराही मावि कालीमाटीकी प्रअ डा. जानुका पौडेल नेपालले जानकारी दिइन् ।

गणित विषयको सन्दर्भमा रहेको हौवा घटाएर यसलाई कसरी रमाइलोसँग सिकाउन सकिन्छ भनेर शिक्षकहरुलाई जानकारी दिन यस्तो कार्यशाला आयोजना गरिउको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने डा. नेपालले स्पष्ट पारिन् ।

अब शिक्षकहरुले ४ दिन कार्यशालामा सिकेका कुराहरु विद्यालयमा गएर अन्य शिक्षकहरुलाई पनि सिकाउने उनले बताइन् । ‘अब कक्षाकोठाको सुधारमा केन्द्रित रहँखै यस्ताखाले सिकाइ तालीम सञ्चालन गर्दै अगाडि बढ्छौं’ – डा. नेपालले भनिन् ।

काठमाडौं विश्वविद्यालय, काठमाडौं युनेस्कोको सहयोगमा महिला शिक्षक समाजले पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।