नहरको छेउमा उद्यान

चितवन, १२ साउन । भरतपुर महानगरपालिका–११ मा नमूना किसिमको उद्यानसहितको हरित मार्ग निर्माण गरिने भएको छ । नारायणी लिफ्टको पानी बग्न छाडेर चौरको रुपमा परिणत भएको ठाउँलाई उपयोग गरी हरित मार्ग निर्माण गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका–११ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार बसेनीबाट नहरचोकसम्म वाइपास सडकको समानान्तर हुने गरी हरित मार्ग निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । जसअनुसार १ दशमलव ४३ किलोमिटर लामो र नौ मिटरदेखि १८ मिटर चौडा स्थललाई पैदल मार्गसहितको हरियाली उद्यान बनाइने छ । सडकको बीचमा बगैँचा र दुवै छेउमा तीन मिटर चौडाको पैदल हिड्नका लागि बाटो बनाइने छ ।

पार्कसहितको हरित मार्ग निर्माणका लागि चार करोड ८५ लाख खर्च हुने छ । जसका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग बजेट माग गरिएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य विजय सुवेदीले नहर मासेर सामान्य सडक बनाइने गरेकोमा सो क्षेत्रमा नमूना प्रकृतिको उद्यान बनाउन लागिएको बताए । बिहान र बेलुका सुरक्षित हिडाइका लागि सहयोग पुग्ने गरी हरियाली मार्ग पनि उद्यान भित्र रहने उनको भनाइ छ ।

सो स्थानमा वृद्धवृद्धालाई हिड्डुल गर्न र बस्ने ठाउँ व्यवस्था गरिने छ । वातावरण संरक्षणका लागि तीनवटै तहका सरकारसँग कार्यक्रम रहेकाले बजेट अभाव नहुने उनको भनाइ छ । महानगर भित्रकै नमूना उद्यानको रुपमा यसलाई विकास गर्नुपर्ने सुवेदीको तर्क छ । पार्कभित्र कुनै पनि सवारी साधन लान नहुने गरी बनाउनुपर्ने उनले बताए ।

भरतपुरको शहरी क्षेत्रमा जनघनत्व बढिरहेको समयमा यस्ता उद्यानले महत्वपूर्ण अर्थ राख्ने सुवेदीको भनाइ छ ।