आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित

कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ ।

पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी विद्यार्थीको पुनः अर्को हप्ता परीक्षण गरिने उनले बताए ।

“वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएक छौँ”, बाँस्तोलाले भने । परीक्षणका क्रममा २५ जनाको आँखामा समस्या देखिएपछि क्लबले निःशुल्क औषधि प्रदान गरेको छ । समता स्कूलले विद्यार्थीसँग मासिक रु १०० लिएर अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ ।

Loading...