मुग्लिन, १० साउन । चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको हो ।
लुकीछिपी बसेको सूचनाको आधारमा उनलाई प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–९ काँडाघारीबाट पक्राउ गरेकोे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
महतोले भारत बिहार मजफपुर जिल्ला मुसहरि सर्लाही गाउँ बस्ने २३ वर्षीय सञ्जयकुमार राय यादवलाई नेपालमा राम्रो जागिर लगाइदिन्छु भनी प्रलोभनमा अपहरण गरी नेपालको पर्सा जिल्ला जिराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित जिराभवानी मन्दिरमा राखेर रु १० लाख फिरौती माग गरेको भन्दै उनीविरुद्ध विसं २०६७ फागुन २४ गते सो मुद्दा दायर गरिएको थियो ।
बसको ठक्करबाट चार पैदलयात्री घाइते
चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते भएका छन् । भरतपुरबाट शरणपुरतर्फ जाँदै गरेको ना४ख ३४९९ नंको बसले बिहीबार राति ८ः३० बजे भरतपुर महानगरपालिका–१६ ठूलोगडीमा चार पैदलयात्रीलाई ठक्कर दिएको हो ।
घाइते हुनेहरुमा भरतपुर महानगरपालिका–१६ का वर्ष ३० की प्रतिमा बस्नेत, सोही स्थान बस्ने वर्ष २१ की प्रसमता विक, वर्ष ७ का रसिन मगर र वर्ष २७ की रञ्जु थापा घाइते भएको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिए । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।