प्रदेश नं १ मा ५६ प्रतिशत मात्र रोपाइँ

विराटनगर, ९ साउन । प्रदेश नं १ मा हालसम्म ५६ दशमलव ७४ प्रतिशत धान रोपाइँ भएको छ ।

प्रदेश नं. १ का तराईका जिल्ला (सुनसरी, मोरङ र झापा) मा ८० प्रतिशत तथा पहाडका जिल्लामा शतप्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिए ।

प्रदेश नं १ मा तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तीमध्ये हालसम्म एक लाख ९३ हजार ३९८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

ताप्लेजुङमा धानखेती योग्य मानिएको कूल आठ हजार ७३७ हेक्टर क्षेत्रफलमध्ये छ हजार ५५२ हेक्टर अर्थात् ७५ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै सङ्खुवासभाका १३ हजार ८५१ हेक्टर क्षेत्रफलमध्ये नौ हजार तीन हेक्टर अर्थात् ६५ प्रतिशत, सोलुखुम्बुका एक हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये एक हजार ६७ हेक्टर अर्थात् ७० प्रतिशत, पाँचथरका नौ हजार २०३ हेक्टर क्षेत्रफलमध्ये छ हजार ४४२ हेक्टर अर्थात् ७० प्रतिशत, इलामका १४ हजार ८१५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार हेक्टर अर्थात् ५४ प्रतिशत, भोजपुरका १८ हजार ९२ हेक्टर क्षेत्रफलमध्ये ११ हजार ७५९ हेक्टर अर्थात् ६५ प्रतिशत, तेह्रथुमका १० हजार १७५ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ५९६ हेक्टर अर्थात् ५५ प्रतिशत, धनकुटाका सात हजार ९५० हेक्टर क्षेत्रफलमध्ये तीन हजार १८० हेक्टर अर्थात् ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

यसैगरी उदयपुरका १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये सात हजार ३५९ हेक्टर अर्थात् ५५ प्रतिशत, ओखलढुङ्गाका चार हजार ४०३ हेक्टर क्षेत्रफलमध्ये एक हजार ५४१ हेक्टर अर्थात् ३५ प्रतिशत, खोटाङका १२ हजार ८९८ हेक्टर क्षेत्रफलमध्ये सात हजार ९९६ हेक्टर अर्थात् ६२ प्रतिशत, झापाका ८७ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ६१ हजार २५० हेक्टर अर्थात् ७० प्रतिशत, मोरङका ८३ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये ४१ हजार ६५० हेक्टर अर्थात् ५० प्रतिशत र सुनसरीका ५५ हजार हेक्टर क्षेत्रफलमध्ये २२ हजार हेक्टर अर्थात् ४० प्रतिशतमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।

प्रदेश नं. १ मा हालसम्म पहाडी जिल्लामा सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत र तराईका जिल्लामा सबैभन्दा बढी झापामा ७० प्रतिशत रोपाइँ सकिएको छ ।

Loading...