सुप विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

९ साउन, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगर झण्डै तीन महिनादेखि ठप्प रहेको छ । तीन महिना अघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । विश्वविद्यालयमा तालाबन्दी भएपछि कामकाज भने त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नै निवासबाट हुने गरेको छ ।

विश्वविद्यालयको काम रजिस्टार गोविन्द बिष्टको निवासबाटै सम्पादन हुने गरेको हो । केन्द्रीय कार्यालयमा लागेको ताला खोल्न कदम चाल्नुको साटो विश्वविद्यालयका पदाधाकारीहरु त्यसबाट पन्छिएर भूमिगत शैलीमा रजिस्टारको सरकारी निवासबाट कार्य सम्पादन गर्ने गरेका विद्यार्थीहरुको आरोप छ। गत २७ चैतमा नेपाल विद्यार्थी संघले उपकुलपति तथा रजिस्टारको नियुक्तिको विषयलाई लिएर विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।

तीन महिनादेखि बन्द रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय खोल्ने प्रक्रिया आन्दोलत पक्ष र विश्वविद्यालय पदाधिकारीबीच एक अर्काको आरोप प्रत्यारोपमा अल्झिएको छ। विश्वविद्यालयका पदाधिकारीहरु ताला खोल्ने बिषयमा वार्तामा बस्न नखोजेका कारण तालाबन्दी खुल्न नसकेको आन्दोलनरत नेपाल विद्यार्थी संघका एक नेताले बताए।

यसैबीच भूमिगत शैलीमा विश्वविद्यालयका कर्मचारीहरुले गरिरहेको गतिविधिलाई समेत नेपाल विद्यार्थी संघले बन्देज लगाएको जनाएको छ। नेपाल विद्यार्थी संघले रजिस्टारको सरकारी कार्यालयमा बुधवार अनिश्तिकालिन तालाबन्दी गरेको छ। केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको अवस्थामा विश्वविद्यालयका स्रोत साधन प्रयोग गरी रजिस्टारको कार्यालयबाट पछिल्ला गतिविधि प्रस्तुत गरिरहेकोले तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका तत्कालिन सहमहामन्त्री अच्युतराज कलौनीले बताए।

‘रजिस्टारको कार्यालयबाट दैनिक कामकाज गरिरहेको अवस्था भेटिएको छ। केन्द्रीय कार्यालयको तालाबन्दी खोल्न कुनै पहल गरिएको छैन।’, उनले भने, ‘हाम्रो मागलाई लत्याउँदै कामकाज गरिरहेका भेटिएकाले तालाबन्दी गरिएको हो।’

Loading...