बोरिस जोनसन बने बेलायतको नयाँ प्रधानमन्त्री

९ साउन, एजेन्सी । बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री चुनिएका छन् । सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका हुन् ।

बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरेका थिए । त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उनले बताए।

साथै जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरे। उनले आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताए।

उनले ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको बताए। ‘मेरो जिम्मेवारी तपाईं नागरिकहरूको सेवा गर्नु हो,’ जोनसनले भने।

बुधबार दिउँसो सत्ता सम्हालेपछि कन्जरभेटिभ पार्टीका नयाँ नेता तथा प्रधानमन्त्री जोनसनले बरिष्ठ मन्त्रीहरूको नाम घोषणा गर्ने अनुमान छ, तिनमा चान्सलर अफ एक्सचेकर भनिने अर्थमन्त्री र गृहमन्त्री पनि पर्दछन्।  बोरिस जोनसन निकट स्रोतका अनुसार उनको टोलीले ‘आधुनिक ब्रिटेन’ को झल्को दिनेछ।

उनले मन्त्रीमण्डलको बरिष्ठ पदमा महिलाहरूको संख्या बढाउनुका साथै जातिय अल्पसंख्यकहरूको सहभागितामा पनि वृद्धि गर्नेछन्। बोरिस जोनसनले अर्का प्रत्यासी जेरमी हन्टमाथि निर्णायक विजय हासिल गरेका थिए। टोरी पार्टीका सदस्यहरूले गरेका मतदानको ६६।४ प्रतिशत मत बोरिस जोनसनको पक्षमा रहेको थियो।

पार्टीमा उनको भावी भूमिकाका बारेमा बोरिस जोनसन र जेरमी हन्टबीच ‘वार्ताहरू भैरहेको’ बताइएको छ।बीबीसीकी लोरा कुन्सबर्ग भन्छिन् पार्टीभित्र परस्पर संघर्षरत गुटहरूलाई एकै ठाउँमा ल्याउन बोरिस जोनसनले आफ्नो नयाँ बरिष्ठ टोलीमा ककसलाई समावेश गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

बोरिस जोनसन नेतृत्वका लागि आफूसँग प्रतिस्पर्धामा उत्रिएका विदेशमन्त्री जेरमी हन्टलाई त्यही पदमा निन्तरता नदिन दृढ देखिन्छन् भने जेरमी हन्ट विदेशमन्त्रीको पद बाहेक गृहमन्त्री, अर्थमन्त्री वा उपप्रधानमन्त्री भन्दा अन्य जिम्मेवारी दिइएमा त्यो आफ्नो घटुवा हुने भन्ने धारणामा छन्।

मङ्गलवार पार्टी नेतृत्वका लागि चलेको लामो निर्वाचन प्रकृयाको अन्त्यमा नतिजा घोषणा भैसकेपछि बोरिस जोनसनले उनको प्राथमिकता भनेको ब्रेक्जिट लागु गर्ने, देशलाई एकतावद्ध तुल्याउने र विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनलाई पराजित गर्ने भनेका थिए।

बुधवार नै प्रधानमन्त्री मेले ब्रिटेनको संसद्मा अन्तिम सवाल जवाफमा सहभागिता जनाएकी थिइन्। उनले संसदको हैसियतमा आफूले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने र आफ्ना उत्तराधिकारीलाई ब्रेक्जिट हासिल गर्न र देशको सुनौलो भविष्यका लागि सघाउन तयार रहेको बताइन्।

प्रधानमन्त्री कार्यालय डाउनिंग स्ट्रिटमा मेले आफ्नो बिदाइ मन्तव्य दिएपछि महारानीलाई भेटेर राजीनामा दिएकी थिइन्।

Loading...