खोटाङ,८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको थियो ।
नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले एक घण्टाका लागि बिहान छ बजेदेखि चक्काजाम गरेका थिए । चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।
सडकमा अवरोध पु¥याएकाले चक्काजामको नेतृत्व गर्ने दुई वडाध्यक्षसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जनाए ।