सडक अवरुद्ध हुँदा राहत बाटोमै थन्कियो

गुल्मी,८ साउन । साँझबाट पुन सुरु भएको अवरिल बर्षाका कारण पहिरो प्रभावित क्षेत्रका पीडितलाई उद्धार गर्न समस्या थपिएको छ । बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । सत्यवति गाउँपालिका वडा नं – ४ लिम्घामा ७ वर्षीया तारा विक र डेढ वर्षीय सुमन विक अझै बेपत्ता छन् भने वडा नं( ३ ठुलोलुम्पेकमा माया र बवि विक पहिरोमा हराइरहेको सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए । उनले गएरातभर ठुलो पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए ।

६ सय परिवारले घर छाडे
पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं – ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँ नै पहिरोको उच्च जोखिममा रहेको छ । त्यस्तै लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुक बहादुर रानाले बताए ।

त्यस्तै वडा नं – ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरो नै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि राति नै घर छोडर आएका छन् ।

राहत बाटोमै ; गाउँमा खाद्यान्न संकट
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले सवैभन्दा वढि मानवीय क्षति भएको वडा नं – ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिंडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिंडेका गाडीहरु शाहाघाटमै दुई दिनदेखि रोकिएका छन् ।

सडक अबरुद्ध भएपछि झण्डै दुई सय पीडितहरुलाई स्थानीय स्तरमा व्यावस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । उनले गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका सामग्री सकिएकाले थप व्यावस्थापन चुनौतिपूर्ण भएको बताए । त्यस्तै ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् । विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा नं – १ का वडाध्यक्ष भिमलाल पाण्डेयले बताए ।

हेलिकोप्टर परिचालन गर्दैछौ ; प्रजिअ

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार र राहतमा समस्या देखिएकाले हेलिकोप्टर परिचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि समस्या देखिएको छ,’उनले भने,‘मन्त्रीहरुसंग समन्वय गरेर हेलिकप्टर मार्फत राहत पुर्‍याउँछौ ।’

जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुनेतर्फ आफुहरु सचेत भएको उनले बताए । पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा ९ जनाको शव फेला परेको छ भने ४ जना अझै बेपत्ता छन् । दुई जना घाइते भएका छन् ।

Loading...