८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने स्पष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको दाबी गर्दै ओलीले भ्रममा नपर्न सबैसँग आग्रह गरे ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले ट्रेड युनियन खारेज गर्ने सरकारको कुनै योजना नभएको बताएका हुन् ।
कसैले कर्मचारी युनियन बन्द गर्नुपर्छ भनेको र सरकारलाई अलोकप्रिय बनाउन चाहनेहरुले सरकारले कर्मचारी युनियन बन्द खोज्यो भनेर भ्रम छरेको जिकिर गर्दै प्रम ओलीले सरकारलाई कर्मचारीलाई सहयोग नगरेको भन्ने आफूलाई नलागेको स्पष्ट पारेका हुन् । कर्मचारीको सहयोग विना सरकार एक्लैले केही गर्न नसक्ने भन्दै ओलीले कर्मचारीमा केही कमी कमजोरी भएपनि सहयोग नै नगरेको भन्ने कुरा सत्य नभएको स्पष्ट पारेका हुन् ।
आन्दोलनको कुरा नगर्न आग्रह गर्दै ओलीले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने बताएका हुन् । उनले भने, ‘माग पेश गर्नुभन्दा पहिले आन्दोलन भन्ने सुनिन्छ । त्यो जरुरी छैन ।’
निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेको भन्दै समाधान गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।