अबरोध हटाउन नसक्दा मार्तडी–कोल्टी सडक अझै खुलेन

मार्तडी, ८ साउन । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् ।

दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउलीखोला, अनैखोला, जिल्ली र रजातोलीका रहेका खहरेखोलामा आउने बाढी र सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जिपहरु बन्द भएको जयमालिका यातायात बाजुराका उपाध्यक्ष पृथ्वी रावलले बताएका छन् ।

उनले अविरल वर्षाका कारण जिप उत्तरी भेगमा सञ्चालनमा नआएकाले व्यवसायी मारमा परेको बताए । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको उपाध्यक्ष रावलको भनाइ छ । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

जिल्लामा जथाभावीरूपमा खनिएका सडकका कारण पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले जनाएको छ । सदरमुकाम जोड्ने मुख्य सडकका रूपमा साँफे–मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताएका छन् ।

प्रजिअ न्यौपानेका अनुसार सानातिना पहिरो पन्छाउन दुई जेसिबी जिल्लामा राखिएका छन्, एक्कासि ठूलो पहिरो आए मात्र सडक अवरुद्ध भएर यातायातका साधन चल्न सक्तैनन् ।

Loading...