दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन

लमही, ७ साउन । दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ ।

तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको थियो । काङ्ग्रेसको चुनाव प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

त्यही दिनलाई सम्झेर प्रत्येक वर्ष साउन ६ गते देवीप्रसाद धिताल (हेमराज) प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रम गर्ने गर्छ । यस्ता कार्यक्रम धितालका परिवार तथा आफन्तलाई खाटो परेको घाउलाई कोट्याउनुभन्दा कुनै उपलब्धि भएको छैन । आफन्तले हेमराजको सम्झनामा आँशु बगाउन थालेको नौ वर्ष भयो । तर, उपलब्धि भने हुनसकेको छैन । हेमराजको हत्या भएको केही दिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो, तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ । त्यही दुई प्रतिशत अनुसन्धानको प्रतीक्षामा रहेका छन् आफन्तहरु ।

धितालकी श्रीमती मञ्जु धितालले गहभरि आँशु झाँदै भनिन, “हामीले उहाँलाई गुमाएको नौ वर्ष भयो, तर अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।” उनले यति भनिरहँदा प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भावविह्वल भएका थिए । “१० दिन, एक महीना भन्दाभन्दै नौ वर्ष बितिसक्यो, प्रहरीले हामी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा अन्तिम अवस्थामा पुगिसकेका छौँ, भन्नुहुन्थ्यो”, उनले भनिन, “तर अहिलेसम्म पनि पत्ता नलाग्दा हामी परिवारलाई थप पीडा भएको छ ।”

Loading...