सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्ति सुरु

काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट विकास क्षेत्रका आधारमा छनोट गरेका शिक्षकलाई जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जिल्लागत नामावलीसहित पदस्थापनाप्रक्रिया अघि बढाउन केन्द्रले एकाइलाई निर्देशन दिएको हो ।

‘साबिकको विकास क्षेत्रअनुसार स्थायी शिक्षक सिफारिस भएका थिए,’ केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने, ‘उनीहरूलाई जिल्लागत र विषयगत रूपमा विभाजन गरेर विद्यालयमा खटाउने प्रक्रिया थालिएको छ ।’ स्थानीय तहको समन्वयमा दरबन्दी कम्ती रहेका विद्यालयलाई प्राथमिकता दिएर शिक्षक खटाउने प्रबन्ध मिलाएको उनले जनाए ।

आयोगले डेढ महिनाअघि स्थायी शिक्षकको नामावली सिफारिस गरेको थियो । दरबन्दी पुनर्मिलान कार्यदलको प्रतिवदेनअनुसार सामुदायिक विद्यालयमा ५७ हजार शिक्षक अपुग छ । आयोगले पहिलो चरणमा माध्यमिक तहका १ हजार ९७ शिक्षक नियुक्त गर्न सिफारिस गरेको थियो । आयोगको सिफारिसअनुसार केन्द्रले उनीहरूको नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

संघीय संरचनाअनुसार शिक्षा ऐन र नियमावली बनिनसकेका कारण पुरानै संरचनाअनुसार विज्ञापन गरिएको थियो । यद्यपि केन्द्रले स्थानीय तहको समन्वयमा मात्र शिक्षकलाई नियुक्ति दिन एकाइलाई निर्देशन दिएको छ । प्राथमिकता क्रमलाई आधार मान्दा समान तह र विषयको रिक्त स्वीकृत दरबन्दीमा अस्थायी रूपमा कार्यरतलाई पहिलो, अपांगलाई दोस्रो, स्थायी ठेगाना वा विवाह दर्ताबाट खुल्ने आधारमा महिलालाई तेस्रो र अन्यलाई योग्यताक्रमका आधारमा चौथो प्राथमिकता दिएर नियुक्ति दिन परिपत्रमा भनिएको छ ।

०७५ असारमा भएको खुलातर्फको विज्ञापनको सबै प्रक्रिया पूरा गरेर आयोगले १ हजार ९७ जनाको नाम गत जेठमा नियुक्तिका लागि सिफारिस गरेको थियो । निमावि र प्रावि तहका लागि क्रमशः ९ हजार ९ सय ९६ र एक हजार ६ सय ३५ पदमा विज्ञापन भएको थियो । निमावि तहको लिखित परीक्षामा सफल भएका उम्मेदवारको अन्तर्वार्तासमेत सकेर पदस्थापनाका लागि सिफारिसको चरणमा छ ।

प्रावि तहको अन्तर्वार्ता जारी रहेको आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिए । तीन तहमा गरी १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन भएको थियो । ‘माविमा सफल उम्मेदवारको नामावली सिफारिस भइसकेको छ, निमाविको केही दिनमा र प्रावि तहको भदौ दोस्रो सातासम्म सिफारिस गरिसक्छौं,’ उनले भने । मावि तहका छानिएका शिक्षकलाई प्राथमिकता क्रमअनुसार जिल्ला छनोट फाराम भर्न गत असार २ गते म्याद दिइएको थियो ।

नियुक्ति दिँदा रिक्त रहेका तह र विषयगत दरबन्दी संख्याअनुसार शिक्षकलाई पालिका रोज्न लगाउने आधार तय गरेको केन्द्रले जनाएको छ । यसरी नियुक्ति भएका शिक्षकको नामावलीसहितको विवरण पालिकामा उपलब्ध गराउनुपर्ने, उक्त विवरणका आधारमा स्थानीय सरकारले तह, कक्षा, विषय र विद्यार्थी संख्याका आधारमा विद्यालय रोज्न लगाउने र नयाँ नियुक्त शिक्षकको विवरण केन्द्रमा पठाउन उक्त परिपत्रमा निर्देशन गरिएको छ ।

Loading...