पत्रकारसहित विभिन्न विधाका ६ जना पुरस्कृत

खोटाङ, ४ साउन । तुवाचुङ साप्ताहिकले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा तीन पत्रकार र विविध क्षेत्रमा योगदान गर्ने अन्य तीन जनालाई पुरस्कृत गरेको छ ।

साप्ताहिक पत्रिकाले आज हलेसीस्थित होटल हलेसी भिलेजमा औपचारिक कार्यक्रम गरेर राससकर्मी पत्रकार केदार मगर, नागरिककर्मी पत्रकार दमन राई र कान्तिपुर टेलिभिजनकर्मी पत्रकार उत्तम चौलागार्इंलाई पुरस्कृत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले पत्रकार मगर, राई र चौलागार्इंलाई जनही रु १५/१५ हजार नगदसहित प्रमाणपत्रको साथमा खादा ओढाएर पुरस्कृत गरे । पत्रकार मगर नेपाल पत्रकार महासङ्घका प्रदेश सभासद् एवं नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय सदस्य छन् भने, राई नेपाल पत्रकार महासङ्घ शाखा खोटाङका अध्यक्ष र चौलागार्इं शाखाका सचिव छन् ।

मोफसलमा रहेर जिल्लाको हरेक विकास निर्माणका गतिविधिलाई पत्रकारिताको माध्यमबाट देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तीन जना पत्रकारलाई पुरस्कृत गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दीपेन्द्र राईले बताए । पहिलो वर्ष तीन जना पत्रकारलाई वितरण गरिने पत्रकारिता पुरस्कार अर्को वर्षदेखि एक जनालाई मात्र वितरण गरिने जनाइएको छ ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा आयोजना गरिएको वार्षिक उत्सवको अवसरमा पत्रकार, समाजसेवी, साहित्यकार र खेलकूदकर्मीगरी चार विद्यामा छ जनालाई पुरस्कृत गरिएको छ । समाजसेवी जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवा पुरस्कार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा निवासी साहित्यकार विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार र सितोरियो करातेका खेलाडी एवं अन्तर्राष्ट्रिय रेफ्री सेशुुका राईलाई तुवाचुङ साप्ताहिक खेलकूद पुरस्कार प्रदान गरिएको प्रकाशक/सम्पादक राईले बताए ।

समाजसेवी राई, रेफ्री सेशुका र साहित्यकार विक्रमलाई पनि जनही १५/१५ हजार नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा समाजसेवी भूपेन्द्रकुमार राई, श्यामचन्द्र राई र नयनकुमार राईलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको छ ।

गत वर्षको साउन–४ गतेदेखि त्रिधार्मिकस्थल हलेसीबाट प्रकाशन शुरु भएको तुवाचुङ साप्ताहिक खबर पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ । वार्षिककोत्सव उद्घाटन कार्यक्रमका वक्ताहरुले तुवाचुङ साप्ताहिक पत्रिकाले जिल्लामा छोटो समयमा नै ठूलो सफलता हासिल गरेको स्मरण गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरेका छन् ।

Loading...