एकवर्षमै ५४५ खानेपानी आयोजना बनाएको दावी, समस्या ज्यूका त्यू

काठमाडौँ, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५४५ खानेपानी आयोजना सम्पन्न गरेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायले ५२६ साना तथा आधारभूतस्तरका र १९ वटा ठूला आयोजना सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजना सम्पन्न भइसकेकाले यसबाट करीब पाँच लाख ३३ हजार जनसङ्ख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २४२ वटा भूकम्पबाट प्रभावित आयोजना, २५० वटा ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षात्को पानी सङ्कलनमा आधारित आयोजना गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिए ।

त्यस्तै खानेपानी विभागअन्तर्गत तेस्रो साना शहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजना सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजनाअन्तर्गत नौ आयोजना सम्पन्न भएका छन् ।

तेस्रो साना शहरी खानेपानी आयोजनाअन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको वीरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजना सम्पन्न भएका छन् ।

सहलगानीअन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढी, नवलपरासीको जलुके र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । तेस्रो साना शहरी र सहलगानीअन्तर्गत सम्पन्न भएका आयोजना ठूला आयोजनाभित्र पर्दछन् ।

मन्त्रालयका प्रवक्ता शाक्यले ‘एक घर, एक शौचालय’को अवधारणाबमोजिम साढे ९९ प्रतिशत जनसङ्ख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्तसम्ममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए ।

खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन २८ वटा आयोजनामध्ये चालू आवभित्र १२ वटा आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत काठमाडौँ उपत्यकाको चक्रपथभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाइन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकामा नौ वटाको निर्माण कार्य सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौँ उपत्यकाभित्र १७ किमि खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकामा २० किमि सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्यअन्तर्गत सुरुङ मार्ग र ‘हेड बक्र्स’ निर्माण कार्यको बोलपत्र खोली मूूल्याङ्कन भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची आयोजना दोस्रो चरणको लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य शुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया शुरु भएको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको २०७४ चैत २७ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको थियो ।

खानेपानी मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलोपटक मूूल विधेयक तयार गरेर प्रतिनिधिसभामा दर्ता गराई पेश गरेको छ । खानेपानीमन्त्री बीना मगरको सक्रियतामा खानेपानी तथा सरसफाइ विधेयक तयार भई संसद्मा पेश भएको हो ।

Loading...