९ हजारका लागि परीक्षा हुन नदिन लोकसेवा अगाडि ठूलो प्रदर्शन

 

काठमाडौं, २ साउन । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन खारेजीको माग गर्दै आयोगको केन्द्रीय कार्यालय अगाडि ठूलो पदर्शन भएको छ । ठूलो संख्यामा मानिसहरु जम्मा हुने देखिएपछि प्रहरीले हस्तक्षेप गरेर केहीबेरमै त्यहाँबाट प्रदर्शनकारीहरुलाई हटाएको थियो ।

काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शनकारीहरुको ठूलो समूह जम्मा भएर बिहीबार केहीबेर घेराबन्दी समेत गरेको छ । आयोगले विज्ञापन निकाले यता नै व्यापक विरोध भए पनि आयोग भने परीक्षा लिइ छाड्ने अडानमा छ । संसददेखि सडकमा समेत यस विषयमा कुरा उठे पनि लोकसेवाले भोलि शुक्रबार अर्थात साउन ३ गते उक्त परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

विरोधका बावजुत लोकसेवाले परीक्षा लिनै लागेपछि बिहीबार प्रदर्शनकारीहरु लोकसेवा घेराउ गर्न पुगेका हुन् । आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

‘आरक्षण बचाउ आन्दोलन’ भन्ने व्यानर र प्ले कार्डहरु बोकेका प्रदर्शनकारीहरुले लोकसेवा अगाडि प्रदर्शन गरेपछि त्यस क्षेत्रको सवारी आगागमन केही समय ठप्प भएको थियो ।

लोक सेवा आयोगले गत असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो । आयोगको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू आन्दोलित भएका हुन् ।

प्रदर्शनकारीहरुले यो विज्ञापन नै खारेज गर्नुपर्ने माग राखेका छन् । यसलाई खारेज गरेर समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने उनीहरूको माग छ । यही मागमा उनीहरुले विभिन्न समयमा चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

सर्वोच्च अदालतले समेत विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि आयोगले यो परीक्षा जसरी पनि सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

Loading...