बा सम्मानित हुने विद्वान, धनी, राम्रा भएर वा शक्तिशाली भएर होइन रहेछ । बा त बा भएका कारण श्रदेय हुने रहेछन् आदरणीय हुने रहेछन ।
बा १४ वर्षदेखि दमको रोगी हुनुहुन्थ्यो । दाई स्वाथ्य क्षेत्रसँग चिरपरिचित भएर नै बा’को औषधोपचारमा सजिलो भएको थियो । पछिल्लो १ वर्षदेखि बा’लाई अनेक समस्या देखिन थाल्यो । डाक्टरका अनुसार बा’को फोक्सो २०% मात्र बाँकी थियो । दमको उपचार हुँदा मुटुमा समस्या देखिने, मुटुको उपचार हुँदा दमले च्याप्ने हुन थाल्यो । अक्सिजन १ सेकेन्ड पनि छुटाउन नमिल्ने भइसकेको थियो ।
अन्तिम घडीमा ६ दिन बा’लाई आईसियूमा राखेर उपचार गरियो बा’लाई निकै कडा एन्टिबायोटिक चलाईएको थियो । बा’को स्वास्थ्यमा राम्रो सुधार भयो र अस्पताल बसाईको १३ औँ दिनमा हामी डिस्चार्ज हुँदै थियौं । यो कुरा भगवानलाई मन परेन सायद । त्यही दिन विहानै बाले सदाको लागि यो संसार छोड्नुभयो ।
बा’लाई चितामा राखिएको थियो । मैले अन्तिम पटक बा’लाई हेरेँ । वायोप्याकले गर्दा बा’को नाकको माथिल्लो भागमा ठूलो घाउ थियो । केही समयपछि हामीले दागबत्ती दियौं । आफ्नै आँखा अघि खरानी भएर एउटा जिन्दगी सकियो । अर्थात हेर्दाहेर्दै बा सकिनुभयो । बा छउन्जेल जे परे पनि बासँग सल्लाह गर्छु नि जस्तो लाग्थ्यो । बाले छाडेपछि हामी छानो नभएको घरमा बसेजस्ता भयौं ।
बा’को जीवनका अन्तिम दिनहरूमा उहाँको स्याहार–सुसार गर्दा मैले बिताएका महत्वपूर्ण समय मेरा लागि बहुमूल्य छन् । उहाँको व्यथा कष्टदायी र दुःखदायी त पक्कै थियो । रोगसँग लडिरहँदासमेत सदैव अविचलित तथा सकारात्मक रहेर बसिरहन सक्ने व्यक्तिको जीवन पनि मैले नजिकबाट देख्न पाएँ ।
नबिउँझने गरी जानुभन्दा केही मिनेटअघि मात्रै उहाँले मलाई ’दाईले छोराको मुख हेरेर पनि मन बुझाउँछ, तेरो मन बुझाउँने बाटो केही भएन कान्छा’ भन्नुभएको थियो । बा’ले अन्तिमसम्म पनि ‘तैले विहे गरेको हेर्न मन छ’ भन्नुहुन्थ्यो ।
अफसोच यो सब नहुन लेखेको रहेछ । जुन क्षणको मलाई सबैभन्दा ठूलो डर थियो, त्यसले आखिर सार्थक रूप लिई छाड्यो । अब उहाँ यहाँ हुनुहुन्न । म आफूभित्र गहिरो गरी उहाँको अभावको अनुभूति गर्दैछु । उहाँको अनुपस्थितिसँग अभ्यस्त हुने कोशिस गर्दै गर्दा मलाई त्यो क्षण सम्झँदा आफु अपुरो भएको महशुस हुन्छ ।
धेरै रात ओछ्यानमा पल्टिएपछि म उहाँले खेपेका दुःखहरू सम्झेर रुन्थेँ । पछाडि फर्केर हेर्दा मलाई लागिरहन्छ मैले यस्तो अनुभव सँगालेको राम्रै भयो । किनभने त्यस्तो उमेरमा सबै किशोर किशोरीको दुनियाँ अस्पष्ट र अन्योलपूर्ण हुन्छ । म भने त्यस अनुभवका लागि धन्य छु । पहिलो कुरा त, त्यसले मलाई बा’को अत्यन्त नजिक पुर्यायो । एकातिर म मनको बह र तनावले भरिएको ठूला मान्छेहरूको दुनियाँलाई बुझ्ने चेष्टा गरिरहेको हुन्थेँ । अर्कातिर त्यस पीडाबाट उहाँलाई जोगाउने मेरो चाहना हुन्थ्यो ।
एसएलसी सकिना साथ हामी सहर छि¥यौँ । अलिअलि पढ्दै गएपछि कोदाली छोड्दै गयौं । काठमाडौँमा २–४ पैसा कमाउन सक्ने भएपछि जमिनबाट झन् टाढा भयौं । तर, बा’ले जीवनको अन्तिम घडीसम्म धूलीमाटी खेलिरहनुभयो। खेतीप्रतिको लगाव एक रत्ती घटाउनुभएन । खेतीमा नटेकी बा’लाई निन्द्रै नलाग्ने । खेतबारीमा टेक्न नपाए आँगनबाट धित मरुन्जेल खेती हेर्नुहुन्थ्यो र उज्यालो मुख लाएर घर भित्र आउनुहुन्थ्यो।
बा’ले संसार छोड्ने अघिल्लो दिन ९६ वर्षिय हजुरबा बा’लाई भेट्न अस्पताल आउनु भो । बा’ले हजुरबाको मुख हेर्दै एकछिन थरथर ओठ कमाउनुभयो । केही बोल्न खोजेजस्तो गर्नुभयो र भन्नुभयो ‘मलाई लिन हिजै आएका थिए । तर म हिजो गइनँ । तँपाईलाई कुरेर बसेको बा । तपाँईको मुख देखिहालेँ अब म जान्छु है ।’ यो देखेर त्यहाँ वरीपरीका नरुने कोही भएन ।
बा’लाई काँक्रो साह्रै मन पथ्र्यो । काँक्रो मन पर्ने भएकै कारण आमा काँक्रो रोप्न असाध्यै जाँगर चलाउनु हुन्थ्यो । घरभरि हरियो र पहेला काँक्रा जताततै लडिरहेका हुन्थें । कामबाट असिनपसिन भएर घर फर्किर्ने वितिकै बा’ले हातमुख पनि नधोई काँक्रो खानुहुन्थ्यो । अघिसम्म थाकेको देखिने बा’को अनुहार काँक्रो खानेवित्तिकै तेजिलो हुन्थ्यो ।
बा बित्नु एकदिन अगाडि अस्पतालमा हामी सँगैका एकजना दाईले हामीलाई काँक्रो दिनुभो बा’ले हातको ईशाराले काँक्रो खान मन गर्नुभो । मैले बा’लाई चिसोले असर गर्छ भन्दै काँक्रो खानबाट बञ्चित गरे । के थाहा बा’ले अन्तिम पटक मसँग काँक्रो खान मन गर्दै हुनुहुन्छ भन्ने कुरा । यो कुरा सम्झदा अहिले मन भारी भएर आउँछ ।
दिमागमा बा’को अनुहार झलझल्ती आउन थाल्छ । बा’सँगका यादहरू कता–कताबाट दिमागभित्र छिर्छन् । मनमा एउटा भिन्दै खाले पीडाबोध हुन्छ ।
अनि लाग्छ, मेरो जीवनको अभिन्न अंग भर्खरै मबाट चुँडिएर हावामा तैरिँदै टाढा–टाढा हुँदै गइरहेको छ । म त्यसलाई समात्न खोज्छु । तर, त्यो कतै क्षितिजमा पुगिसकेजस्तो देखिन्छ ।
तर, त्यो हराएको हुँदैन, मेरै वरिपरि घुमिरहेको हुन्छ । म यसकुरामा एकिन छु कि मेरो दिमागमा चलिरहेका यीमध्ये धेरै सोचाइ भ्रममात्र हुन् ।
आज बा’को ४५ औँ दिनको पुन्यतिथि ।
बा’प्रति हार्दिक श्रद्धासुमन ।
अब बा हामी माझ सम्झनामा मात्र बाँकी हुनुहुन्छ ।
बा’को निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली र हाम्रो परिवारप्रति समवेदना प्रकट गर्नुहुने सबै आफन्त र प्रियजनहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।