१ हजार ४ सय ४४ जनाको सकुसल उद्धार

काठमाडौं, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ भने १ हजार ४ सय ४४ जनाको सकुसल उद्धार गर्न सकिएको छ ।

आइतबार दिउँसो ४:३० बजेसम्ममा ६० जनाको ज्यान गएको तथ्यांक दिएको नेपाल प्रहरीले १ हजार ४ सय ४४ जनाको सकुसल उद्धार गर्न सकिएको बताएको हो ।

काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार ४ सय ४४ जनाको सकुसल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नेपाल प्रहरीको दावी छ ।

त्यसैगरी बाढी पहिरोबाट ३८ जना घाइते भएका र उनीहरुको उपचार भैरहेको प्रहरीको भनाइ छ । घाइते हुनेहरुमा १७ जना महिला र २१ जना पुरुष रहेको बताइएको छ ।

मृत्यु हुने ६० जना मध्ये २४ जना महिला ३६ जना पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ। यस्तै २६ जना हालसम्म सम्पर्कबिहीन रहेको सूचना प्राप्त भएको छ ।

Loading...