अविरल वर्षापछिको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौँ । चार दिन देखिको लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते र ८ जना बेपत्ता भएका छन् ।

शुक्रबार बेलुकीसम्ममा बाढी र पहिरोबाट खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २ र भोजपुरमा २ जनाको मृत्यु भएको छ ।यसैगरी धादिङमा २, झापामा १, सिन्धुलीमा १, रामेछापमा १, र ओखलढुंगामा १ जनाको पनि बाढी पहिरोबाट मृत्यु भएको हो ।

यस्तै, ललितपुरमा १, मकवानपुरमा १, रुकुम पश्चिममा १, महोत्तरीमा १, बारामा १ र पर्सामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ ।

राजधानी उपत्यकाका अधिकांश ठाउँ, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउँमा यातायात अवरुद्ध भएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएका छन् ।

काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रु बिचल्लीमा परेका छन् । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । गृह मन्त्रालयले पनि जल तथा मौसम विज्ञान विभागको हवाला दिँदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

कहाँ कति पर्यो पानी
गएको २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।

Loading...