जनकपुर अञ्चल अस्पताल जलमग्न, आकस्मिक कक्षमासमेत पानी पस्यो

जनकपुरधाम । निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ । जनकपुर अञ्चल अस्पताल डुवानमा पर्दा अस्पतालको आकस्मिक कक्षमासमेत पनि पसेको छ ।

यस्तै, तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ ।

भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको छ भने घर–घरसम्म पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय, बाह्रबिघा मैदान, विमानस्थल, जिल्ला हुलाक कार्यालय, प्रदेश २ को स्वास्थ्य निर्देशनालय पनि डुबानमा परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिकै सडकमा पानी जमेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा १ देखि २ फिटसम्म पानी जमेको छ ।

Loading...