मिलापत्र भए पनि प्रहरी कार्यालयबाट रुदै निस्किइन नायिका शिल्पा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंको टेकु परिसरमा फिल्म निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको झगडा मिलाइयो । तर, मिलापत्रपछि नायिका शिल्पा पोखरेल भने आँखाभरि आँशु झारेर बाहिरिन ।

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित बनेको भन्दै प्रहरीमा उजुरी हालेकी थिइन । साथै उनले आफूहरुबीचको सम्बन्ध अब दिगो नहुने भन्दै सम्बन्ध विच्छेदको माग पनि गरेकी थिइन । बिहीबार टेकु परिसरमा पति ओझाले शिल्पासँग माफी माग्दै अब त्यस्तो नगर्ने भनेगर कागज गरेपछि मिलापत्र गरियो । तर, शिल्पा भने मिलापत्र गरे पनि अझै ढुक्क भने हुन सकेको देखिएन ।

शिल्पाले मिडियासँग कुरा गर्दै आफूलाई परेको पीडाले आफैलाई मात्र दुख्ने बताइन्। भावुक अवस्थामा उनले भनिन्, ‘मलाई जे पर्‍यो, मैले भोगेँ कसैलाई दुख्दैन, मलाई मात्र दुख्छ।’ छोटो प्रतिक्रिया दिएपछि शिल्पा रुँदै बाहिरिइन । यसले उनीभित्र अथाहा पीडा छ भन्ने देखाउँथ्यो ।

मिलापत्रपछि पति छवि भने निकै प्रसन्न देखिन्थे । उनले यो सामान्य घर झगडा भएको बताए । घरको कुरालाई ठूलो बनाइएको भन्दै छविले भने, ‘हरेक मानिसको घरमा झगडा हुन्छ। अहिले कुरा मिलिसक्यो। मैले माया गरेर ७० सालदेखि सँगै छौँ।”

तीन वर्ष अघि २०७३ को दशैका बेला गोप्य विवाह गरेका चलचित्रकर्मी पोखरेल र ओझाको सम्बन्ध अझै के हुन्छ भन्न नसकिने उनीहरुलाई चिन्नेहरु बताउँछन् ।

Loading...