सप्तरी, २१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको बिहिबार हत्या भएको छ । हत्या गरेको आरोपमा मृतकका छोरालाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।
दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय कडरबोनामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी र अनुहारका विभिन्न ठाउ क्षत विक्षत हुने गरि काटिएर रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो। मृतकको शवलाई रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा राखी पोस्ट माटर्म गरिएको छ।