केन्द्रीय सदस्य जीवनलाई निष्कासन गर्दै नेकपाले दियो गडवडी नगर्न चेतावनी

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले गगनबहादुर खड्का ‘जीवन’लाई पार्टीको साधारण सदस्यबाट निस्काशन गरेको छ ।

आतइबार प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर विचार र कार्यदिशाबाट पयालयनता, सुधारवाद, आत्मसुरक्षावाद र वर्ग संघर्षमा गम्भीर गल्ती गरेको भन्दै पार्टी सदस्यबाट समेत निश्कासन गरेको बताएका छन् । प्रवक्ता प्रकाण्डले जीवनको विज्ञप्ति क्रान्तिकारी ध्रुबिकरणविरुद्ध भएको बताउँदै प्रतिक्रियावादी षड्यन्त्र भएको बताए ।

“पार्टी, नेतृत्व, विचार, पार्टी लाईन र पार्टीका क्रान्तिकारी संघर्षका गतिविधिलाई सङ्गीन आरोप लगाएर पार्टी त्याग गरेको वक्तव्यवाजी गर्नुभयो । क्रान्ति र प्रतिक्रान्तिको टक्करको रुपमा क्रान्तिकारी धुर्वीकरण अगाडि बढिरहेको बेला जीवनको यो वक्तव्य क्रान्तिकारी धुर्वीकरणका विरुद्ध प्रतिकृयावादी षड्यन्त्रको रुपमा आएको छ । यो हाम्रो पार्टी र क्रान्तिलाई सैह्य हुने विषय किमार्थ छैन” प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जीवनमा दक्षिणपन्थी रुझान, अराजकता र निष्कृयताका कारण पार्टीले चुनाव खारेजी अभियान पूर्व नै ब्यूरो इञ्चार्जको जिम्मेवारीबाट हटाई अर्को ब्यूरो इञ्चार्ज खटाइसकेको प्रकाण्डले बताएका छन् ।

प्रवक्ता प्रकाण्डले पार्टीको आठौं केन्द्रीय समितिको चौंथोपूर्ण बैठकले पार्टी सदस्यता मात्र रहने गरी केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाई सकेको जानकारी गराउँदै आजैको मितिदेखि पार्टीबाट निस्काशन गरेको बताएका छन् । उनले पार्टीविरुद्ध गडबढी गर्ने दुस्साहास गरे सहनीय नहुने चेतावनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

गगन बहादुर खड्का (जीवन) ले श्रावण २० गते जारी गर्नुभएको विज्ञप्तिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । यसबारे पार्टीको धारणा स्पष्ट गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१‍. जीवनले प्रचण्ड र किरणसंगको सम्बन्ध विच्छेदको औचित्य, पार्टीको विकसित विचार, एकीकृत जनक्रान्तिको पार्टी कार्यदिशा, वैज्ञानिक समाजवादी राजनैतिक कार्यक्रम, क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण, आफ्नो पुर्नगठन कालदेखि पार्टीले निरन्तर रुपमा अगाडि बढाई राखेको क्रान्ति एवं अवलम्बन गरेको संघर्षको स्वरुप, पार्टीको आर्थिक दृष्टिकोण, नीति र व्यवहार, १० वर्षको जनयुद्धको उपलब्धी एवं त्यसको रक्षा, ०६३ सालपछि माओवादी पार्टी एवं नेपाली क्रान्तिमा भएको प्रतिक्रान्तिले क्रान्तिकारी माओवादी तथा नेपाली जनतामा पारेको असर र जनचाहानाबारे आफ्नो विज्ञप्तिमा जुन धारणा प्रस्तुत गर्नु भएको छ । त्यो वैचारिक, राजनैतिक र व्यवहारिक दृष्टिले गलत, तथ्यहिन र भ्रामक भएको ठहर सहित पार्र्टी त्यसलाई पुरै खारेज गर्दछ । उहाँको विज्ञप्तिबाट सचेत रहन सिङ्गो पार्टी पंक्ति, इमान्दार माओवादीहरु, कम्युनिस्ट क्रान्तिकारीहरु, देशभक्त शक्तिहरु र आम जनसमुदायमा पार्टी विशेष अपिल गर्दछ ।

२. ०५२ सालमा शुरु गरिएको नेपाली क्रान्तिको राजनैतिक लक्ष्य र जनयुद्धको निर्णायक प्रकृयाबाट ०६३ सालपछि देश दुनियाले बुझ्‍ने र देख्ने गरी प्रचण्ड विचलित भए । “मन्द विष”को रणनीतिमा नेपाली जनयुद्ध, त्यसका १० वर्षका महान उपलब्धी र माओवादी पार्टीलाई ध्वंस गरे । प्रचण्डको दलाल पूँजीपति वर्गको सत्ता र संसदीय प्रतिकृयावादी व्यवस्थामा पतनका विरुद्ध संघर्ष गर्नु सच्चा माओवादी नेता तथा कार्यकर्ताको दायीत्व र क्रान्तिको ऐतिहासिक जिम्मेवारी हुन आउथ्यो । यो महान तर असाध्यै जटिल कार्यलाई क. किरणको नेतृत्वमा क. विप्लव लगायतको नेतृत्वको टिमले पूरा ग¥यो र माओवादी पार्टीको क्रान्तिकारी पुर्नगठन गर्‍यो । पुर्नगठनको प्रकृयामा क. किरण हुँदै क. विप्लवको नेतृत्वमा माओवादी पार्टी र आन्दोलनलाई पुर्नगठन गरियो । क. विप्लवको नेतृत्वमा पार्टी पुर्नगठन भैसकेपछि क्रान्तिकारी पार्टी निर्माणको रुपमा नेपाल कम्युनिस्ट पार्टी बनेको छ । अबको नेपाली क्रान्तिलाई पुरा गर्ने सवालमा अहिलेको विश्व र नेपाली समाजलाई दृष्टिगत गरी राजनैतिक कार्यक्रमको रुपमा वैज्ञानिक समाजवाद र त्यसलाई प्राप्त गर्ने कार्यदिशाको रुपमा ‘एकृकीत जनक्रान्ति’ संश्लेषण गरेर ०७१ साल मंसिर(पौषबाट नेपाली क्रान्तिलाई अगाडि बढाई राखेको छ ।

आजका मितिसम्म हाम्रो पार्टी एक मात्र क्रान्तिकारी पार्टी, क्रान्तिलाई केन्द्रमा राखेर राष्ट्र र नेपाली श्रमजीवी जनताको मुद्दालाई अगाडि सारेर सम्झौता हिन संघर्षरत पार्टी र क्रान्ति एवं परिवर्तन चाहाने नेपाली जनता र विश्वका श्रमजीवी जनताले विकल्पको रुपमा देखेको र आशा एवं विश्वास गरेको पार्टीको रुपमा स्थापित छ । यो पार्टी र नेतृत्वलाई प्रचण्ड एवं किरणसंगको सम्बन्ध विच्छेदको औचित्य पुष्टि गर्न नसकेको, वैचारिक अस्पष्ट र राजनैतिक अक्रमर्णयताको आरोप लगाउनु जीवनको ठुलो दृष्टिभ्रम, वैचारिक विचलनता र दलाल संसदीय राजनीतिको पुच्छरवाद बाहेक अरु केही नभएको पुष्टि हुन्छ । यसलाई कुनै पनि कुतर्कले छोप्न सकिने अवस्थाको अन्त भैसकेको छ ।

३. हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवाद पथप्रदशक विचार भएको पार्टी हो । यो पार्टी सर्वहारा क्रान्तिका २०औं शताब्दीका क्रान्ति एवं प्रतिक्रान्तिका सकारात्मक र नकारात्मक अनुभव, २१औं शताब्दीको सर्वहारा क्रान्तिको निम्ति विचारधारात्मक विकाशको आवश्यकता र २१औं शताब्दीको विश्वका विशेषताहरुलाई गंभिरताकासाथ दृष्टिगत गरी अबको नेपाली क्रान्तिको राजनैतिक कार्यक्रम “वैज्ञानिक समाजवाद” र क्रान्तिको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ विकाश गरेर क्रान्ति अगाडि बढाई राखेको पार्टी हो । यसलाई माक्र्सवादका आधारभूत सिद्धान्तबाट विचलित भएको, राजनैतिक कार्यदिशा अस्पष्ट भएको देख्ने जीवनको वैचारिक दृष्टिले जडसुत्रवादी र राजनैतिक दृष्टिले दक्षिणपंथी संसदवादी प्रवृति दयालाग्दो रुपमा उदाङ्गो हुन्छ । यो चिन्तन र प्रवृतिको राजनैतिक यात्रा दलाल संसदवाद बाहेक अर्कोतिर हुने देखिदैन ।

४. क्रान्तिको निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण अनिवार्य शर्त हो । कम्युनिस्ट पार्टीलाई दार्शनिक र राजनैतिक रुपले बुझ्ने र लागु गर्ने सवालमा २० औं शताब्दी र नेपाली माओवादी आन्दोलनमा विगतमा गम्भीर त्रुटी रहँदै आएका छन् । त्यसलाई निर्ममतापूर्वक सामाजिक क्रान्तिको विज्ञानको बलमा सच्याउनु र विकाश गर्नु अहिलेका कम्युनिस्ट क्रान्तिकारी र कम्युनिस्ट पार्टीको जोखिमी पूर्ण कार्यभार हो । सर्वहारा वर्गको यो कार्यभारलाई दृष्टिगत गरी हाम्रो पार्टी र नेतृत्वले ऐतिहासिक आठौं महाधिवेशनबाट शाहासकासाथ कम्युनिस्ट पार्टी सम्बन्धी दर्शन र राजनीतिमा विकाश गर्‍यो र भन्यो कि कम्युनिस्ट पार्टी एउटा वस्तु हो, वस्तु हुनुले यसमा सकारात्मक र नकारात्मक तत्व हुन्छ । त्यो भनेको माक्र्सवादी विचार र गैर माक्र्सवादी विचार हुन्छ । माक्र्सवादले संशोधनवादका विरुद्ध गर्ने संघर्ष दुईटा विचार बीचको संघर्ष हो र माक्र्सवादी विचारले संशोधनवादी विचारका विरुद्ध गर्ने संघर्षमा गैर माक्र्सवादी विचारलाई बदल्ने वा संशोधनवादलाई निल्ने विधिमा कम्युनिस्ट पार्टीको जीवन हुन्छ भन्ने मान्यता अगाडि सार्‍यो ।

कम्युनिस्ट पार्टी सम्बन्धी दर्शन राजनीति लाईन र संघर्षमा आफ्नो नियम अनुसार लागु हुन्छ । क्रान्तिकारी र दक्षिणपंथी राजनैतिक लाईनको बीचमा एकत्व कम्युनिस्ट पार्टीको राजनैतिक लाईन संघर्षमा गलत हुन्छ । राजनैतिक लाईन संघर्षमा क्रान्तिकारी लाईनले दक्षिणपंथी लाईनलाई या त रुपान्तरण गर्नु पर्छ या निल्नु पर्छ भन्ने मान्यता विकाश ग¥यो । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भएका त्रुटी र नेपाली कम्युनिस्ट आन्दोलनमा प्रचण्ड बाबुरामले चुनवाङ बैठकबाट विपरित राजनैतिक लाईनको एकत्व कम्युनिस्ट पार्टीको राजनैतिक जीवन भनि गरेको सारसंग्रहवादी संश्लेषणले पार्टीलाई दलाल पूँजीपति वर्गको पार्टी र राजनीतिमा दलाल संसदीय राजनीतिमा पतन गरायो । हाम्रो पार्टीले उपरोक्त संश्लेषण सच्याउने हिक्मत ग¥यो । यसलाई कम्युनिस्ट पार्टी निर्माणमा समस्या देख्नु जीवनको बुर्जुवा विसर्जनवाद नै हो ।

५. हाम्रो पार्टी उत्तर साम्राज्यवाद र भारतीय साम्राज्यवादको हस्तक्षेप एवं अतिक्रमणबाट नेपाल राष्ट्रको मुक्ति र दलाल पूँजीपति वर्गको सत्ता एवं त्यसको संसदीय व्यवस्थाको अन्त गरी नेपाली श्रमजीवी जनताको राज्यसत्ता र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको सु–स्पष्ट राजनैतिक लक्ष्य सहित राष्ट्रघात र जनघातका विरुद्धको संघर्षको कार्यनीति अगाडि सारेर संघर्ष गरिराखेको छ । यसलाई रणनीतिबाट अलगथलग देख्ने, मौसमी संघर्ष देख्ने र पूर्वाग्रह साट्ने वा अर्थ संकलनका साधन मात्र देख्ने जीवनको आत्मसुरक्षावादको पराकाष्ठ र विचलित भएका माओवादीहरुले भ्रष्टाचार एवं कमिशनको खोलो गरी करोडौं अरवौं कमाए मैले कमाउन पाईन भन्ने हिनताग्रस्त न्यून पूँजीवादी अराजक चरित्र बाहेक अरु हुन सक्दैन । यो बीचमा उहाँ कमाउ धन्दामा लागेको र उहाँ विरुद्ध पार्टीमा उजुरी पनि पर्नुेले यो कुरालाई पुष्टि गर्दछ ।

६. नेपाली जनयुद्धको एउटा महत्वपूर्ण राजनैतिक उपलब्धी राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना तथा त्यो संग सम्बन्धी उपलब्धीहरु हुन । प्रचण्ड नेतृत्वको माओवादी पार्टी क्रान्तिबाट विचलित भएर दलाल संसदवादी भै सकेपछि यो गणतन्त्र माओवादी क्रान्तिकारीहरुले समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी हतियार बनाउन सक्ने अवस्थाको वस्तुतः अन्त भएर दलाल संसदीय व्यवस्था र प्रचण्ड लगायत दलाल संसदवादी नेताहरुको क्रान्ति र क्रान्तिकारी पार्टीमाथि हमला गर्ने हतियार बन्न पुगेको छ । यसको रक्षाको नाममा संस्थागत गर्न खोज्ने जीवनको प्रवृति दलाल संसदवादी नै हुन आउछ । क्रान्तिका उपलब्धीहरुको रक्षा क्रान्ति अगाडि बढाएर र क्रान्ति सम्पन्न गरेर मात्र हुन्छ, दलाल संसदवादसँग सती गएर होइन ।

७. गगनबहादुर खड्का (जीवन)लाई हाम्रो पार्टी र नेतृत्वले दुई लाईन सङ्घर्ष र वर्गसङ्घर्षका जटिल मोर्चाहरुमा उहाँमा देखिने धर्मराहट, अकर्मन्यता, निराशा, पलायनता सुधारवाद, आत्मसुरक्षावाद र वर्गसंघर्षमा गम्भीर प्रकृतिको गल्ती गर्दा पनि मद्दत गर्दै र सहयोग गर्दै आएको हो । वडो विडम्बना ‘बिरालोलाई राडीले छोप्दा पनि म्याउ गर्छ’ भने झै अहिले पार्टी, नेतृत्व, विचार, पार्टी लाईन र पार्टीका क्रान्तिकारी सङ्घर्षका गतिविधिलाई सङ्गीन आरोप लगाएर पार्टी त्याग गरेको वक्तव्यवाजी गर्नुभयो ।

क्रान्ति र प्रतिक्रान्तिको टक्करको रुपमा क्रान्तिकारी ध्रुविकरण अगाडि बढिरहेको बेला जीवनको यो वक्तव्य क्रान्तिकारी ध्रुविकरणका विरुद्ध प्रतिकृयावादी षड्यन्त्रको रुपमा आएको छ । यो हाम्रो पार्टी र क्रान्तिलाई सैह्य हुने विषय किमार्थ छैन । उहाँमा देखिएको दक्षिणपन्थी रुझान, अराजकता र निष्कृयताका कारण पार्टीले उहाँलाई चुनाव खारेजी अभियान पूर्व नै ब्यूरो इञ्चार्जको जिम्मेवारीबाट हटाई अर्को ब्यूरो इञ्चार्ज खटाइसकेको थियो । समस्याको यही प्रकृतिलाई दृष्टिगत गरी भर्खरै सम्पन्न भएको हाम्रो पार्टीको आठौं केन्द्रीय समितिको चौंथो पूर्ण बैठकले पार्टी सदस्यता मात्र रहने गरी केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइसकेको थियो । आजका मितिबाट उहाँलाई नेपाल कम्युनिस्ट पार्टीबाट निस्काशन गरिएको छ । दलाल पुँजीपति वर्गको सत्ता र संसदवादी पार्टीको मतियार बनेर हाम्रो पार्टी र क्रान्तिका विरुद्ध उहाँले गडबढी गर्ने दुस्साहास गर्नुभयो भने त्यो पार्टीलाई कुनै पनि मूल्यमा सहनीय नहुने कुरा समेत पार्टी स्पष्ट गर्न चाहान्छ ।

प्रकाण्ड
प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी

२२ साउन ०७४, आइतबार

Loading...