बाघको जुँगा उखेलेको आरोपमा एक युवकलाई ५ लाख जरिवाना

बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ। बर्दिया जिल्ला अदालतले हालै गरेको फैसलामा यसको पुष्टि गरिएको छ ।

गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ।

उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो। तर, बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा रु पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई रु पाँच लाख जरिवाना तिराएको हो। फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो।

वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई रु पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ।

Loading...