चितवनमा घुमुवा प्रहरीका ठाउँमा सूचना संकलन तथा विश्लेषण टिम

चितवन, १७ असार । जिल्ला प्रहरी कार्यालय चितवनले सेवा प्रभावकारी बनाउन विभिन्न ३० बुँदे वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। मंगलवार कार्यालयमा कार्यक्रम गरी ११ वटा मुख्य प्राथमिकताका आधारमा ३० बुँदे योजना सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका प्राथमिकतामा प्रहरी संगठनको आन्तरिक सुदृढीकरण, जनशक्ति व्यवस्थापन, परिचालन गरी सेवा थप प्रभावकारी बनाउने, चोरी तस्करी, मानव बेचविखन, अनैतिक क्रियाकलाम नियन्त्रण, अवैध मदिरा तथा लागुऔषध नियन्त्रणलगायत रहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

गृह प्रशासन सुधार कार्ययोजना २०७४, प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई मध्यनजर गरी योजना बनाइएको मल्लले बताए। आन्तरिक सुदृढीकरणअन्तर्गत पहिलो चरणमा सादा पोशाकका प्रहरीलाई आफूखुसी घुम्न प्रतिबन्ध गरिएको छ। घुमुवा प्रहरीको नाममा केही प्रहरीले आप्mनो जिम्मेवारी बिसिँदा प्रहरी संगठनकै बदनाम भएकाले यसलाई परिमार्जन गरिएको एसपी मल्लले बताए।

उनका अनुसार घुमुवा प्रहरीलाई हटाएर सूचना संकलन तथा विश्लेषण टिम गठन गरिएको छ। एसपी मल्लले भने, ‘प्रहरी निरीक्षक राजकुमार थापाको नेतृत्वमा १२ जनाको विशेष टोली गठन गरिएको छ। त्यो टोलीलाई प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले निगरानी गर्नेछ।’ यसअघि आफूखुसी सादा पोशाकको प्रहरी परिचालन हुने गरेको भए पनि अब भने जिम्मेवारी तोकिएपछि मात्रै ती प्रहरी कार्यालयबाहिर जान पाउने व्यवस्था गरिएको छ।

मल्लले उनीहरुले अपराध अनुसन्धानका लागि मात्रै काम गर्ने बताए। घुमुवा प्रहरीले कहीँकतै आफूलाई मन नपरेकालाई थर्काउने, धम्क्याउने, केही सूचना लुकाउने गर्दा प्रहरी संगठनको बदनाम हुनुका साथै प्रहरीमाथि नागरिकको विश्वास घटाउने काम भएकाले घुमुवालाई हटाएर विशेष टोली गठन गरिएको एसपी मल्लको भनाइ छ। उनले जिल्लामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा लिएर निगरानी गरीरहेको बताए। चितवनमा ६७ वटा प्रहरी इकाइमार्फत ७४५ जना प्रहरीले सेवा दिइरहेका छन्।

Loading...